☰ open Loading... 26 November 2024|  

वडाअध्यक्ष मानन्धरद्वारा अक्षयकोष स्थापना
  | १० पुष २०७८, शनिबार २१:०३

९ पौष, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।

“राजनीतिलाई समाजसेवा भन्ने गरिन्छ । केही अपवादबाहेक धेरैले यसलाई ‘पेशा’का रुपमा लिन्छन् । राजनीतिबाटै लाभको पदमा पुगेकाहरुले पाउने सेवा–सुविधावापतको रकम त सामाजिक सेवामा खर्चिने त विरलै पाइन्छन् ।  वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले जनप्रतिनिधि हुँदा पाएको सरकारी सुविधावापतको तलव भत्ता गरिव, जेहेन्दार तथा आश्रित बालवालिकाको शिक्षामा खर्चिनुभएको छ ।

वडा नं. ९ का अध्यक्ष मानन्धरले वडाभित्रका तीन वटा सामुदायिक विद्यालयमा कांग्रेसका पूर्व वडासभापति लोकबहादुर विसीको सम्झनामा ‘लोकबहादुर विसी गरिव जेहेन्दार’ छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । स्व. लोकबहादुर विसी दैलेखको डाडापराजुलमा जन्मिएर २०३० शिक्षण पेशा शुरु गर्नुभएका विसीले स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई माध्यमिक तह सम्मको अध्ययन गराउनकालागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

‘वडाध्यक्षमा निर्वाचित भएपछि प्राप्त तलव, भत्तावापतको रकमबाट नेपाल राष्ट्रिय आधाभूत विद्यालय, शिव मावि र कोपीला माविमा एक लाख ११ हजार १११ रुपैयाँको छुट्टाछुट्टै अक्षयकोष स्थापना गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कार्यकाल रहँदासम्म प्राप्त रकम पनि सबै विद्यालयमा समान तरिकाले जम्मा गर्नेछु ।’ उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति दिने उद्देश्यले अक्षकयकोष स्थापना गरिएको बताउनुभयो ।

वडाध्यक्ष मानन्धरले आर्थिक रुपमा सम्पन्न परिवारका बालबालिकाहरु निजी विद्यालयमा अध्ययन गर्ने र अधिकांस विपन्न, गरिव र आश्रित बालबालिकाहरु मात्रै सरकारी विद्यालयमा अध्ययनका लागि आउने भएकाले उनीहरुको शिक्षाका लागि छात्रवृत्ति कोषको व्यवस्था गरिएको बताउनुभयो ।