दैलेख -दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएका तोप–गोला पुन दैलेखमा फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ ।
सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामक तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको हो ।तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।
दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप भने अझै गुमनाम जस्तै छ । अर्गा तोप कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष श्रेष्ठले बताए । सुन्दरी तोप वि:सं १८४६ मा बहादुर शाहको पालामा बनेको ईतीहास छ ।अर्गा तोप तामाबाट बनेको छ । तत्कालिन समयमा तोप भगवतीको मुर्ती समेत रहेको जानकारहरु बताउँछन् ।२०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो। जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारेको स्थानिय बताउछन् ।
