☰ open Loading... 5 December 2024|  

कर्णालीका दुई गाउँपालिका तीन महिनादेखि अन्धकारमा
  | २३ पुष २०७८, शुक्रबार ०५:१५

कर्णालीका दुई गाउँपालिका तीन महिनादेखि अन्धकारमा

 

कर्णालीः गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन्। बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् ।

 

करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन । स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।

 

त्यहाँका स्थानीयले अहिले सामान्यतः मोबाइल चार्ज गर्न पाएका छैनन् । विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारकोे दुखेसो छ ।

 

‘मान्छेहरु खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैन’, सुनारले भने, ‘हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न पाइएको छैन ।’

 

बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पु¥याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्या‍उनुका साथै सयौं कित्ता जमिन कटान गरेको छ ।