☰ open Loading... 16 September 2025|  

करेन्ट लगाएर माछा मार्नेलाई २ हजार जरिवाना
  | २६ पुष २०७८, सोमबार ०५:२५

दैलेख : जिल्लाको नौमूले गाउँपालिका–१ र ६ मा पर्ने लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेकाहरुलाई स्थानीय प्रशासनले जनही २ हजार जरिवाना गरेर छाडेको छ । शुक्रवार लोहोरे खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा प्रहरीले नौमुले गाउँपालिका–६ बस्ने १८ बर्षीय क्रमशः सुजन थापा, प्रदिप थापामगर, टेक बहादुर गुरुङ्ग र नौमुले गाउँपालिका–५ बस्ने १८ बर्षीय अमित राम्जाली मगरलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएका सामानहरु एक थान १२ भोल्टको ब्याट्री, दुई थान कुरेला, दुई थान तार जोडेको लाठ्ठी, पेरोङ्गो, ईन्भटर र एक सय ग्राम माछा नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई आइतवार जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उनीहरुलाई जनही दुई हजार जरिवाना गर्ने निर्णय सुनाएका थिए । उनीहरु सबैले जरिवाना तिरेर आइतबार नै छुटेका छन् ।