केही समय अघि थाइल्यान्डमा सम्पन्न ‘थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम र पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी सुनमाया बुढा सोमबार गृह प्रदेश कर्णाली आएकी छन् ।
सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।
११० किलोमिटर लामो दौडमा सफलता
जुम्ला जिल्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया उमेरले अहिले २३ वर्षकी मात्र भइन् । सामान्यतः जुम्लाजस्तो दुर्गम क्षेत्रबाट थाइल्याण्डसम्मको यात्रा उनका लागि पक्कै सहज थिएन नै । तर पनि उनले हिम्मत गरिन् । दौडलाई नै उनले करिअर बनाएर अघि बढिन् ।
यसअघि पनि थुप्रै देशमा सहभागी बनेर दौड गरिसकेकी उनी ‘अल्ट्रा रेस’ प्रतियोगितामा भाग लिँदै गर्दा निकै ‘एक्साइटेड’ थिइन् । तर मनमा सङ्कोच उस्तै । जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी उनलाई जसरी पनि यो प्रतियोगिता जित्नुपर्छ भन्ने लाग्थ्यो ।
उनी सम्झिन्छिन्, ‘११० किलोमिटरको दुरी बिहान ८ बजे सुरु भएको थियो भने बेलुकी ११ बज्नै लाग्दा पूरा गरेकी थिएँ । जुन दौड नै जिन्दगीको एउटा ठुलो उपलब्धि बनिदियो ।’
यसरी अन्तर्राष्ट्रियस्तरमा चर्चा होला भन्ने कहिल्यै नसोचेको उनी बताउँछिन् । योभन्दा अगाडि आफूलाई जुम्लामा हरि रोकाया (अल्ट्रामा विश्व कीर्तिमानी धावक) ले प्रशिक्षण दिएको उनले सुनाइन् ।
‘अहिले म नर्थ फेस एडभेन्चर टीममा जोडिएको छु, यो संस्थाले ट्रेल रनिङ र अन्य साहसिक खेलमा अनेकौँ सफलता हासिल गरिसकेको छ,’ उनले रातोपाटीसँग भनिन्, ‘समूहमा विश्वस्तरको क्षमता भएका विभिन्न मुलुकका साहसिक खेलाडीलाई अनुबन्ध गरी प्रशिक्षण दिइन्छ र प्रसिद्ध अल्ट्रा ट्रेल दौडलगायत अन्य साहसिक खेलमा सहभागी गराइन्छ ।’
खेलाडीलाई प्रशिक्षण, पोषण तत्व, खेल सामग्री तथा केही आर्थिक सहायतासमेत दिने गरिएको उल्लेख गर्दै उनले सोही संस्थामार्फत आफूले सबैखाले तालिम लिएको बताइन् ।
‘नेपालभन्दा त्यहाँ खाना, हावापानी फरक भएकाले केही गाह्रो भयो तर त्यहाँ हामीलाई सहयोग गर्ने मान्छे हुनुहुन्थ्यो । उहाँले सपोर्ट गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘यो रेसको बीचमा १४ वटा चेक प्वाइन्ट थिए । त्यहाँ पानी, खानेकुराहरू राखिएको हुन्थ्यो । एक मिनेटमा खानेकुराहरू खाएर सकाउनुपर्थ्यो ।’ उनका अनुसार यात्रामा उकालो–ओरालो जंगल, खोलानाला समेत थिए ।
सुनमायालाई सबैभन्दा गाह्रो त रातको समयमा भएको डौड लाग्यो । ‘त्यहाँको नेशनल पार्कभित्र घना जंगल थियो । टर्च लगाएर दौडिनुपर्थ्यो,’ उनले भनिन्, ‘तर पनि हिम्मत हारिनँ, त्यो दौडलाई जितेरै छाडेँ ।’
सुनमाया कर्णालीको भूगोल र थाइल्याण्डको भूगोलमा भिन्नता रहेको बताउँछिन् । ‘म जुम्लामा हाईअल्चिच्युटमा दौड गर्थेँ, निकै गाह्रो हुन्थ्यो तर त्यहाँ अलि लो लेवलको भूगोलमा दौड गर्दा केही सहज भने हुन्थ्यो,’ उनी भन्छिन्, ‘अन्य उकालो–ओरालो, जंगल त उस्तै हो । मैले कहिल्यै सोचेकै थिइनँ कि यति ठुलो गेम जित्छु भनेर ।’
उनले यो खेलका लागि नौ महिना तालिम गरेको सुनाइन् । मलाई ‘नर्थ फेस एडभेन्चर’ टीमबाट रेगुलर तालिम दिनुभएको थियो,’ सुनमायाले भनिन्, ‘अर्कोतर्फ उहाँहरुले मलाई एक वर्षका लागि अनुबन्ध गर्नुभएको थियो । त्यसैले मैले यो गेम जित्नु नै थियो । किनकि मैले हारेँ भने त टीमबाट आउट हुन्छु । जितेँ भने म पुनः अनुबन्ध हुन्छु भन्ने लाग्थ्यो ।’
त्यसैले पनि आफूले निकै मेहनत गरेको उनले सुनाइन् ।
कर्णालीदेखि थाइल्याण्डसम्मको यात्रा
‘मचाँहि एउटा सामान्य किसान परिवारको छोरी हो, मैले कक्षा ७ मा अध्ययन गर्दा–गर्दै गेम खेल्न सुरु गरेको थिएँ,’ उनले आफ्नो खेल जीवनबारे प्रकाश पार्दै भनिन्, ‘विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट मेरो खेल करिअरको सुरुवात भएको थियो ।’
सुनमाया आफ्नो यहाँसम्मको यात्राको मुख्य श्रेय हरि रोकायालाई दिन्छिन् । ‘म गुरु (हरि) जस्तै बन्न सक्छु कि भन्ने सोच्थेँ, गुरुले जति गेमहरू जित्नुभयो, म पनि गुरुजस्तै गेमहरू जित्न सक्छु नि भन्ने आँट गर्थेँ । त्यसैले मैले रनिङ गर्न थालेकी थिएँ ।’
सन् २०१६ मा यस क्षेत्रमा प्रवेश गरेपछि पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी हुन काठमाडौंको गोदावरी पुगेको अनुभव पनि उनले सुनाइन् । ‘त्यहाँ १२ किलोमिटरको ट्रेल रेस जितेकी थिएँ, त्यो बेलामा मलाई ट्रेल रेसका बारेमा खासै थाहा थिएन,’ उनले भनिन्, ‘हामीलाई जुम्लाबाट गुरु (हरि)ले गेम खेल्न भनेर गोदावरी पठाउनुभएको थियो । त्यहीँबाटै मेरो अल्ट्रा ट्रेल रेस रनिङको यात्रा तय भएको थियो ।’
त्यसो त, उनका बुबाआमाले सानै भए पनि सरकारी जागिर खाओस् भन्ने चाहना राखेका थिए । ‘जब कक्षा १० को परीक्षा दिएँ । त्यसपछि म बाहिर पढ्न जान्छु भनेर परिवारमा कुरा राखेँ,’ उनले भनिन्, ‘तर बाबा आमाले बाहिर गएर पढाई गर्ने पैसा नभएको सुनाउनुभयो ।’
बरु बिहे गर्न परिवारबाट उनलाई दबाब आउन थाल्यो । आफूले बिहे गर्दिन भनेर घरबाट कसैलाई नसोधी सदरमुकाम खलङ्गा गएको उनले सुनाइन् ।
‘पढ्छु भनेर सदरमुकाम गएकी म कलेजभन्दा पनि खेलतिर बढी केन्द्रित भएँ,’ उनी भन्छिन्, ‘कलेज एकदुई हप्तामात्र गएँ, बाँकी समय पुरै रनिङ गर्न थालेँ । सुरु–सुरुमा मलाई गेम नेखेल पैसा आउँदैन भन्नुहुन्थ्यो सबैले तर मैले खेलप्रतिको चाहनालाई त्याग गर्नै सकिनँ ।’
अहिले आफ्नो सफलता देखेर बुबाआमा खुशी भएको उनले सुनाइन् । ‘अब त उहाँहरु पनि मलाई अझै राम्रो गर्नुपर्छ भनेर भन्नुहुन्छ,’ उनले भनिन् ।
विगतको तुलनामा अहिले आफूले भिन्न अनुभव गरेको र त्यसबाट थप खुशी पनि मिलेको उनले सुनाइन् । ‘हुन त यसअघि पनि मैले धेरै देशमा खेल खेलिसकेको थिएँ । तर कसैलाई पनि थाहा हुँदैनथ्यो,’ उनले भनिन्, ‘एक्लै नेपालबाट बाहिर जाँदा निकै पीडा हुन्थ्यो, मेरो घर त जुम्ला । अन्य खेलाडीलाई एयरपोर्टमा फूलमाला लगाएर बिदा गरिन्थ्यो, मेरो त काठमाडौंमा कोही हुनुहुन्नथ्यो । न्यास्रो लाग्दथ्यो । एक्लै जाने र एक्लै आउथेँ । तर यो पटकचाँहि खुशी छु । अहिले धेरैको सपोर्ट पाइयो ।’
सुनमायाको यस्तो छ दौडको इतिहास
सुनमायाले यसअघि स्वीटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायतका देशहरुमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी थिइन् । करिब ६ वर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।
सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर नै एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । योसँगै सुनमायाले निःशुल्क प्रशिक्षण, पोषणयुक्त खाना, दौडसम्बन्धी सामग्री मात्र होइन, तलबसमेत पाउँछिन् ।
एसिया प्यासिफिक एडभेन्चर कम्पनीद्वारा सन् २००६ मा हङकङमा स्थापित साहसिक ‘कर्णाली स्पोर्ट्स क्लव’मार्फत सुनमायाले क्षेत्रीय दौड प्रतियोगिताहरूमा खेलेको अनुभव सुनाइन् । सन् २०१६ मा भएको १५२ किलोमिटरको मनास्लु माउन्टेन ‘ट्रेल रेस’मा प्रथम भएपछि भने उनीप्रति धेरैको ध्यान केन्द्रीत भएको थियो ।
सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छन् । उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भइ विभिन्न पदक जितेकी छन् ।
अबको सपना
सुनमायाको सपना अझै खेल्ने र देशलाई चिनाउने छ । ‘अहिले थोरै लेवलमा पुगेको मात्र हो । अब फ्रान्समा १०१ किलोमिटर लामो ‘अल्ट्रा रेस’ जित्ने सपना छ । अझै यात्राका माईल बाँकी नै छन्,’ उनी भन्छिन्, ‘मभन्दा पछाडि आउनेहरुलाई सिकाउने चाहना छ ।’
समग्र देशको नाम उँचो पार्ने र अझ कर्णालीको परिचयलाई फराकिलो बनाउने उनको सपना छ । ‘सपना पूरा होला, नहोला तर, जिन्दगीमा हर कोहीले केही न केही सपना बुन्नुपर्ने नै हुन्छ,’ उनी भन्छिन्, ‘भविष्य कसले पो देखेको छ र !’रातो पाटीबाट