वीरेन्द्रनगर – वीरेन्द्रनगर नगरपालिकाभित्र ३८ गाउँ रहेका थारु समुदायको कला, संस्कृति र सभ्यता संरक्षणका लागि थारु संग्रहालय तयारी गरिएको छ। वीरेन्द्रनगर–९ कालिमाटेमा थारु संग्रहालयको भवन निर्माण भएको यो आर्थिक वर्ष उद्घाटन गर्ने गरि तयारी गरिएको वडा कार्यालयले जनाएको हो। वीरेन्द्रनगरमा ३८ थारु गाउँमध्ये ९ नम्वर वडामा मात्रै ८ गाउँ छन्। ९ नम्वर वडामा थारु समुदाय बढी भएकाले कालिमाटेमा संग्रहालय बनाएको हो।
हिजोआज थारु बस्तीभित्रै खेत किनेर घडेरी बेचेरपछि अन्य समुदायको बसोबास बढ्न थालेपछि अचेल थारु संस्कृति जगेर्नाका लागि होम स्टे तथा अन्य संघसंस्था, क्लवहरु लागि परेका छन्। नयाँ नयाँ संस्कृति भित्रन थालेसंगै थारु समुदायका अगुवाहरुले २०४९ सालदेखि सुर्खेतमा आफ्नो संस्कृति जगेर्ना गर्न लागि परेका हुन्। थारु गाउँहरु वीरेन्द्रनगरभित्र धेरै रहेकाले उनीहरुको कला संस्कृति, रहनसहन र सभ्यता झल्किने थारु संग्रहालय बनाउन लागिएको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष सुरेस मानन्धरले बताए। ‘संग्रहालयको भवन अन्तिम तयारी हुँदैछ’, वडाध्यक्ष मानन्धारले भने, ‘संग्रहालयमा थारु समुदायको कलात्मक सामग्रीहरु र संस्कृति झल्कने सामग्रीहरु राखिने छ।’
थारु समुदायका अगुवाहरुका अनुसार माघ १ गते विशेष पर्वका रुपमा थारु समुदायहरुले मनाउने गर्दछन्। यसका लागि उनीहरु १ महिना रातीमा विशेष नाचहरु गाउँगाउँमा देखाउँछन्। सुर्खेतमा थारु समुदायका परिकार पस्कनका लागि थारु होम स्टेहरु सञ्चालनमा छन्। यसका अलवा थारु भाषा, संस्कृति संरक्षणका लागि लखागिन थारु उत्खान मञ्च र थारु कल्याणकारी सभाले काम गरिरहेका छन्।
थारु समुदायमा नाचिने विभिन्न नाचहरु, बनाइने परिकारहरु, बोलिने भाषा तथा संस्कृतिका जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु बेलाबेलामा भईरहने थारु समुदायको संस्कृति संरक्षणमा लागेका वीरेन्द्रनगर नगरपालिकाका थारु समुदायका अगुवा मानबहादुर चौधरी (पन्ना)ले बताए। उनका अनुसार १२ महिना नाचिने बड्का नाच, मुरुगरौवा नाच, कठघोरी नाच, झुम्रा, हुर्दुङ्गवा नाच, झर्रा र मुङ्गरौवा नाच लोप हुने अवस्थामा रहेका छन्।
विदेशी संस्कृतिको सिको र आधुनिक पढाई लेखाई र रहनसहनले थारु संस्कृति लोप हुने अवस्थामा पुगेको हो। दशैंदेखि विभिन्न महिनामा भिन्दाभिन्दै नाचहरु खास रुपमा थारु समुदायभित्र नाचिने गर्दछन्। साखीया, झुम्रा, मयूर र र्हुदंगवा, देशौरे नाच हिजोआज थारु होम स्टे लगायत संस्कृति कार्यक्रममा नाचिने नाच हुन्।
माघको १ गते विशेष पूजा सकेर प्रत्येक थारु गाउँमा १ जना मुखिया छान्ने चलन हुने गरेको थारु समुदायका अगुवा मानबहादुर चौधरीले बताए। ‘पुष अन्तिम हप्ताबाट छलफल भएर माघको १ गते स्वतन्त्र रुपमा मुखिया छान्ने चलन छ,’ अगुवा मानबहादुर चौधरीले भने, ‘छानिएको मुखियाले समुदायको हितका लागि वर्षभरीको लागि योजना बनाउने लगायतका कामहरु गर्छन्।’
सरकारले सुर्खेतमा १९७५ ताका थारु समुदाय आएको तथ्यांक राखेपछि थारु समुदायका बुढापाकाहरु १९५० ताका आएको दावी गर्छन्। नयाँ जनगणनाअनुसार सुर्खेतमा ६ हजार १ सय ११ जनसंख्या थारु समुदायको रहेको छ।