सुर्खेत । पत्रकार सीता वलीलाई ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले स्व. पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बुधवार वलीलाई प्रदान गरिएको हो ।
नगद पाँच हजारसहित प्रमाणपत्रद्वारा वलीलाई पुरस्कृत गरिएको छ । चौतारीले हरेक वर्ष जिल्लामा क्रियाशील पत्रकारहरुमध्ये एक जनालाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।
वली फरकबाटो डट कमका सम्पादक समेत हुन् । वलीले एक दशकदेखी सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएकी छन् ।
बोनम्यारोसम्बन्धि उपचारका क्रममा शर्माको २०७६ कार्तिकमा निधन भएको थियो । दैलेख घर भएका शर्माकै सम्झनामा पुरस्कार स्थापना गरिएको हो । शर्मा साझा बिसौनी दैनिकमा कार्यरत थिए ।
यसैगरी बरिष्ठ पत्रकार पृथ्वीबहादुर सिंहलाई समेत सम्मान गरिएको छ । बुधवार भएको चौतारीको छैटौँ जिल्ला अधिवेशनको अवसरमा सिंहलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।