काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएकामा एक्काइस हजार सात जनाले पीसीआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् । दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना संक्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ सक्रिय संक्रमित रहेका छन् ।