कर्णाली-कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । संक्रमण बढ्दै जाँदा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन ।
संक्रमणदर बढ्दै जाँदा बजारमा औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो ।
सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गरेको छ । अनुगमणकोक्रममा बजारमा सिटामोल अभाव भएको पाइएको छ ।
व्यापारी सुमन केसीका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको बताए । केसीले आफूहरुसँग भएको थौरै मात्रा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीबाट आउन छोडेको बताए ।
औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ । सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी छ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन् । बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो रु भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए ।