जाजरकोट । जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने भएपछि सात गतेबाट लागु गरिएको हो ।जिल्ला प्रशासन कार्यालय जाजरकोटले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको छ। कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।
कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरिए पछि यसको प्रभावकारिता बढेको भेरी नगरपालिका ४ का वडा अध्यक्ष खम्बजंग शाहको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिरहेको र यसबाट जोगिन सबैले कोभिड(१९ विरुद्धको खोप लगाउनु पर्ने स्थानीय खडक बिसीको धारण रहेको छ ।
स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाका अनुसार जाजरकोट जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ८६ हजार २ सय ४४ जना नागरिकलाई पहिलो र ६५ हजार ४ सय ७२ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको बताए ।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।
खोप अभियान जिल्लाका सात वटै पालिकामा निरन्तर रुपमा र पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेर गएको छ । जिल्लामा यसअघि कोरोना सङ्क्रमणबाट १७ जनाको ज्यान गइसकेको छ ।