जाजरकोट — जिल्लाको कुशे गाउँपालिका–४ मा निर्माणाधीन लघु जलविद्युत् आयोजना १५ वर्षदेखि अधुरै छ । अर्छानीमा २०६३ मा सम्झौता भएको निर्माणाधीन तिलिंगेखोला लघु जलविद्युत् आयोजना २ वर्षमा सक्ने भनिएको थियो । मनास्लु इनर्जी काठमाडौं र स्थानीय उपभोक्ताले निर्माणमा लापरबाही गर्दा विद्युत् योजना अलपत्र परेको हो ।
दुई वर्षमा सक्ने गरी सम्झौता भए पनि १५ वर्ष बित्दासम्म विद्युत् निर्माण हुन नसक्दा स्थानीयवासी अँध्यरोमा बस्न बाध्य भएका हुन् । ‘३ सय ५५ घरधुरीका बासिन्दाले विद्युत् बाल्ने सपना देखेको १५ वर्ष बित्यो,’ बिजुली बाल्न १५ दिनसम्म श्रमदान गरेका स्थानीय वेदबहादुर सिंहले भने, ‘विद्युत्का सामग्री र उपकरणहरू क्रमशः हराइरहेका छन्, बिजुली बल्ने/नबल्ने कुनै ठेगान छैन ।’ बिजुलीका खम्बा, इन्सुलेटर, ट्रान्समिसन तारलगायत विद्युत् निर्माणका सामग्रीहरू पाँचकाटिया, थलह, सल्लीबजारलगायतका बजारहरूमा अलपत्र परेको उनले जानकारी दिए ।
उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवले योजनामा रकम हिनामिना गरेको स्थानीय कविन्द्र जैसीले आरोप लगाए । ‘आएको बजेट समितिका पदाधिकारीले आफ्नो खातामा ट्रान्सफर गरेपछि कसरी बल्छ बिजुली ?’ उनले भने, ‘ट्रान्सफर्मर, पोल, पाइपलगायत सामान अहिले बाटोमा अलपत्र र छरपस्ट छन् ।’
विद्युत् योजना निर्माणका लागि जडान भएका उपकरण खिया लागेर काम नलाग्ने भइसकेको अर्का स्थानीय देवीप्रसाद रेग्मीले बताए । उनका अनुसार तुम्ती, ताँगाचौर, फलफुल्यालगायत गाउँमा पनि बिजुली बल्छ भनिएपछि स्थानीयले १५ दिनसम्म श्रमदान गरेका थिए । ‘हामीले गरिबी निवारणमा उठाएको पैसासमेत विद्युत्मा लगायौं,’ उनले भने, ‘तर निर्माणको थालनी गरेको उपभोक्ता समितिको लापरबाहीले विद्युत् योजना अलपत्र पर्यो ।’
ठेकेदार कम्पनी र उपभोक्ता समितिले आफ्नो जिम्मेवारी पूरा नगर्दा आएको बजेट व्यक्तिगत स्वार्थमा प्रयोग भएको स्थानीयको आरोप छ । योजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, तत्कालीन जिविस, गाविस र कुशे गाउँपालिकालगायत निकायको झन्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ । उपभोक्ता समितिको पदाधिकारीभित्रको विवादले आयोजना अलपत्र परेको उपभोक्ता समितिका सचिव केशव सिंहले स्वीकार गरे ।कान्तिपुरबाट