सल्यान — कालीमाटी गाउँपालिका २ बराढुंगाका केशर पुन उमेरले ६८ वर्ष पुगे । सन्तानको नाममा उनका एक छोरा र बुहारी छन् । छोरा कमाउन बाहिर गइरहने र बुहारी कहिले घर र कहिले माइतीमा बस्ने हुँदा उनी अधिकांश समय घरमा एक्लै हुने गर्छन् ।
बेसहारा जस्तै बनेका पुनलाई बुढेसकालको सहारा बनेको छ, बाख्रापालन । घरमा धेरैजसो समय एक्लै हुने भएकाले बुढ्यौलीमा समय बिताउन पनि उनका लागि तिनै बाख्राहरू साथी बनेका छन् ।
घरमा काम गर्ने मानिसहरू नहुँदा पुनको नाममा रहेको सात रोपनी खेतीयोग्य जमिन भने बाँझै छ । यद्यपि बाख्रा पालनमा भने ६८ वर्षीय पुन सफल किसानको रुपमा चिनिएका छन् ।
दुई वटा बाख्रा लिएर व्यवसाय सुरु गरेका उनीसँग अहिले २० वटा बोका, बाख्रा र पाठापाठी छन् । जंगलको बीचमा रहेको घरमा एक्लै बस्दैआएका उनलाई घाँसपात गर्न गाह्रो हुने भए पनि जीवीकोपार्जनका लागि यही पेशा अंगालेको उनी बताउँछन् ।
यसबीचमा उनले खसी, बोका बिक्री गरेरै वार्षिक रुपमा ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गरिसकेका छन् । बाख्रापालनबाट आम्दानी प्रसस्त भए पनि बुढ्यौलीमा काम गर्न कठिन हुने उनको अनुभव छ । बाख्रालाई घाँसपात, दाना, पानीको लागि समस्या हुने गरेको उनी बताउँछन् ।
बस्ने घर पनि ऐलानी जग्गामा रहेको र सात रोपनी जग्गा पनि ऐलानी भएकाले सम्पत्तीको नाममा बोका र बाख्रा मात्र रहेको उनले सुनाए । रुख चढेर घाँस काट्न समस्या हुँदा कहिलेकाहीँ छिमेकी बालबालिकाको सहायता लिने गरेको सुनाउँछन् ।
‘ढाड दुख्ने समस्या छ । एक ठाउँमा बसेपछि अर्को ठाउँमा जान कठिन हुन्छ’ उनले भने ‘पापी पेट भर्नका लागि जसोतसो गर्नु परेको छ । बेरोजगारीको समस्याले गर्दा छोरालाई कमाउन न जा भन्न सकिनँ । आफू एक्लै हुँदा यो हालत छ । श्रीमतीको पनि धेरै पहिले मृत्यु भएकाले सबै काम आफैंले गर्नु परेको छ ।’ जग्गा धेरै भए पनि बाँदरले सबै बाली खाइदिने गरेको र खनजोत गर्न नसक्दा वर्षौंदेखि जमिन बाँझै रहेको उनको भनाइ छ ।
सल्यानको बराढुंगामा पहिला १९ परिवार बस्थे । पानी, सडक लगायत भौतिक पूर्वाधार नभएपछि सुविधाको खोजीमा अधिकांश कालीमाटीको रामपुर र दाँतिर झरे । त्यसपछि त केशर पुन एक्लै बनेका हुन् ।
ुजंगलको बीचमा एक्लै बस्न मलाई रहर होइन । आर्थिक अभावका कारण बाहिर गएर जग्गा खरिद गर्न र घर बनाउन सक्ने क्षमता नभएकाले एक्लै बस्न बाध्य छु’ उनले भने । जंगलको बीचमा आफ्नो मात्र घर भएकाले जंगली जनावरले बारम्बार सताउने गरेको उनी बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण अन्यत्र जग्गा जोड्न नसक्दा बसाइँसराइ गर्न नसकोको उनको गुनासो छ। गाडीको सुविधा नहुँदा स्वास्थ्य चौकी, पसु सेवा केन्द्र, एग्रोभेटसम्म पुग्न पनि घण्टौं पैदल हिँड्नु पर्ने उनको अनुभव छ ।कान्तिपुरबाट