☰ open Loading... 16 November 2024|  

दैलेखमा जनगणनाको प्रारम्भिक तथ्यांकमाथि शंका
  | २१ माघ २०७८, शुक्रबार ०५:२६

सुर्खेत — दैलेखमा २०६८ को जनगणनाभन्दा अहिले ८ हजार ४ सय ५१ जनसंख्या कम भएको विवरण सार्वजनिक भएसँगै जनगणनाको प्रारम्भिक तथ्यांकमाथि प्रश्न उठेको छ । गत वर्ष गुराँस गाउँपालिकाको स्वास्थ्य शाखाले २४ हजार ८ सय नागरिक पालिकामा रहेको तथ्यांक निकालेको थियो । तर त्यसको झन्डै १ वर्षपछि जनगणनाको तथ्यांक भने २१ हजार ९ सय आएको छ ।

 

गणक र सुपरिवेक्षकले स्थानीय तहसँग समन्वय नगर्दा तथ्यांक सही नआएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओली बताउँछन् । ‘पहिले शिक्षक र अनुभवी जनशक्ति जनगणनामा खटाउँदा सही तथ्यांक आएको थियो,’ उनले भने, ‘योपल्ट त गाउँपालिकाले गरेको गणनामा झन्डै ३ हजार जना मानिसको तथ्यांक फरक आयो ।’ कर्णालीका सबै जिल्लाको तथ्यांक गलत पेस गरिएको उनको आरोप छ ।

 

नारायण नगरपालिका–१ का सुवास थापाले वास्तविक तथ्यांक नआएको भन्दै सामाजिक सञ्जालमा टिप्पणीसमेत गरेका छन् । ‘१० वर्षअघिको जनसंख्याभन्दा र अहिलेको जनसख्या एउटै कसरी हुन्छ रु’ उनले भने, ‘यो सरासर गलत भएको छ, गणकहरूले मनगढन्ते तरिकाले तथ्यांक पेस गरेका छन् ।’

आठबीस नगरपालिका उपप्रमुख दीपा बोहोराले प्रारम्भिक गणनाको समुदायमा धेरै आलोचना भएको बताइन् । उनका अनुसार वडा नं १ सात्तलाका स्थानीयले आफ्नो ठाउँमा गणक नै नपुगेको गुनासो गरेका छन् । ‘तथ्यांक नै गलत भए स्थानीय सरकारको कामकारबाही र सेवा प्रवाहमा पनि समस्या पर्छ,’ उनले भनिन्, ‘जनगणना सही नभएको खण्डमा पुनः गणना गर्न जरुरी छ ।’

जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार दैलेखको वार्षिक जनसंख्या वृद्धिदर माइनस ०।३१ प्रतिशत छ । २०६८ मा २ लाख ६१ हजार ७ सय ६७ रहेको जनसंख्या त्यसको एक दशकपछि २ लाख ५३ हजार ३ सय ११ छ । १० वर्षमा ८ हजार ४ सय ५६ जना कम जनसंख्या भएको देखिएको स्थानीय अगुवा यज्ञराज थापाले बताए । ‘बसाइँसराइले कम भएको भए पनि सुर्खेत वा अन्य ठाउँको जनसंख्या बढ्नुपर्ने हो,’ उनले भने, ‘गणकहरूले ल्याएको डेटा सही तरिकाले सुपरिवेक्षकले इन्ट्री नगरेको हुन सक्छ ।’ जिल्ला जनगणना कार्यालय दैलेखका प्रमुख मोतीराम रोकायले यो नतिजा प्रारम्भिक मात्र भएको बताए । ‘गणकहरूले घरघरमा गएर ल्याएको जनगणनाको नतिजा आउन केही समय लाग्छ,’ उनले भने, ‘पहाडी क्षेत्रको जनसंख्या घट्नुको मुख्य कारण जन्मदर घट्नु र बसाइँसराइ नै हो ।’ उनका अनुसार जनगणनाको तथ्यांक लिन दैलेखका ११ स्थानीय तहमा ३ सय १८ गणक र ८१ जना सुपरिवेक्षक खटाइएको थियो ।

 

पछिल्लो जनगणनाअनुसार कर्णाली प्रदेशभरिको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ पुगेको छ । यसअघि २०६८ को जनगणनामा १५ लाख ७० हजार ४ सय १८ थियो । १० वर्षको अवधिमा १० जिल्लामा १ लाख २४ हजार ४ सय ७१ जना थपिएका छन् । प्रदेश जनगणना कार्यालयका प्रमुख पोमनारायण पौडेलले बसाइँसराइ र जन्मदर घट्दा कर्णालीको जनसंख्या कम हुँदै गएको बताए । एउटा घरमा २ सन्तान मात्र जन्मिनु, ढिलो बिहे हुनु, पहाडबाट बसाइँसराइ हुनुलगायत कारण जनसंख्या घटेको उनको भनाइ छ ।कान्तिपुरबाट