वीरेन्द्रनगर — कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले जानकारी दिए ।
‘अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ,’ मुख्यमन्त्री शाहीले बताए । सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा मुख्यमन्त्री शाहीले जानकारी दिएका हुन् ।
कर्णालीमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका ३ प्रदेश सभा सदस्य छन् । जसमा माओवादीले ४, कांग्रेसले मुख्यमन्त्रीसहित ३ र एकीकृत समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने प्रस्ताव राख्दैआएका थिए ।
सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्छ ।