☰ open Loading... 2 May 2024|  

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
  | २३ माघ २०७८, आईतवार ०५:२४

जुम्ला । भारी हिमपातका कारण अवरुद्ध जुम्लाको हवाई सेवा सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेपछि जुम्लामा विगत तीन दिन देखि हवाई सेवा अवरुद्ध भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा सुरक्षाकर्मी, नागरिक, कर्मचारीको सहभागितामा धावनमार्गमा जमेको हिउँ पन्छाए लगत्तै शनिवार नै जुम्लामा हवाई सेवा सञ्चालनमा आएको हो ।

शनिवार नै हिउँ पन्छाएर सकिने र उडान हुने सोचेका थिएनौ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले भन्नुभयो,“तर सुरक्षाकर्मीको सहयोग र दर्जनौँ गाडी प्रयोग गरेर बिहान ११ बजेदेखि दिउँसो साढे २ बजे सम्म निरन्तर हिउँ पन्छाउन खटिएपछि साबिक कर्णालीकै पहिलो उडान जुम्लामा भयो ।”

हिउँ पन्छाएर सकिए लगत्तै नेपालगञ्जबाट जुम्ला सिता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख अधिकारीले जानकारी दिनुभयो । धावन मार्ग सँगै जहाजको पार्किङस्थलको पनि हिउँ पन्छाइ सकिएकोले आइतबारदेखि जुम्लामा नियमित उडान हुने भएका छन् ।

शनिवार बिहानैदेखि जुटेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएर सकाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सम्भव भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बचाए ।

विमानस्थलको हिउँ पन्छाउनका लागि नेपाली सेनाका ट्रक र जिप, प्रशासनको जिप, नगरपालिकाको डोजर जिप, सडक डिभिजन जुम्लाको डोजर लगायतका सवारी प्रयोग गरिएको थियो ।