☰ open Loading... 19 November 2024|  

बिरामी महिलाको ३ दिनपछि हेलिकप्टरबाट उद्धार
  | २४ माघ २०७८, सोमबार ०५:४३

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँकी ५५ वर्षीया छिरिङ तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सख्त घाइते भएकी तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको श्रीमान् तन्जन तामाङले बताए ।

लडेर तामाङको ढाड भाँचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतबार हेलिकप्टर रिजर्भ गरी जिल्ला बाहिर काठमाडौँ लगिएको बिरामीका श्रीमान् तामाङले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर रिजर्भका लागि रु आठ लाख खर्च गरेपछि मात्रै आफ्नो श्रीमतीको उद्धार हुन सफल भएको उनले बताए । घाइतेको कुरुवाका लागि दुई जना आफन्त पनि गएका छन् ।

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य बिरामी पर्दा पनि गरिब निमुखा सर्वसाधरणले ऋण मागेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता कायमै छ । यहाँका नागरिकले यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने हो स्थानीय ग्याम्जु लामाको प्रश्न छ ।

आर्थिक मजबुद भएका नागरिकले जिल्ला बाहिर लैजान सक्लान् तर अन्य सर्वसाधरणलाई भने निक्कै समस्या हुने गरेको देखिएको छ । गाउँमा पर्याप्त औषधि उपकरणका साथै जटिल बिरामीका लागि उपकरण नहुँदा हुम्लीले आफ्नै व्यक्तिगत खर्चमा महँगो मूल्य तिरेर भए पनि जिल्ला बाहिर उपचारका लागि हेलिकप्टर रिजर्भ गर्ने गरेका छन्।