☰ open Loading... 30 November 2024|  

समितिको विवादले लाखौंको काठ जंगलमै थन्कियो
  | ५ फाल्गुन २०७८, बिहीबार ०५:३०

लेकवेशी नगरपालिका –३ स्थित गंगामाला सामुदायिक वन उपभोक्ता समूहभित्र आर्थिक विवाद चुलिदै जाँदा चार वर्षदेखि जंगलमै काठ थन्किएको छ। बैज्ञानिक वनकारुपमा रहेको गंगामालामा कार्ययोजना अनुसार काटिएको लाखौं मूल्यका रुखहरु अहिले समूहको विवादका कारण वनमै लथालिङ्ग अवस्थामा रहेको हो।

बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अनुसार काटिएको रुखहरु वन मन्त्रालयबाट खारेजसंगै रुखहरु जहाँ जस्तो छ त्यही अवस्थामा राख्नु भन्ने निर्देशनपछि जंगलमै थन्किएको काठ अहिले वन समूहको आन्तरिक विवादका कारण १ वर्षदेखि जंगलमै रहेको हो। ठूलो परिणाममा रुखहरु कटान गरिए पनि मुल्य एकिन नभएको समितिले जनाएको छ। नयाँ वन समूह आएसंगै पुरानो समूहका पदाधिकारीले आर्थिकदेखि संस्थागत माईनेटहरु हस्तान्तरण नगर्दा समस्या चुलिएको हो। पुरानो समितिले आर्थिक हिनामिना गरेको आरोपमा अनुसन्धान भईरहेको उपभोक्ताहरु बताउँछन्। डिभिजन वन कार्यालय सुर्खेतले पनि आर्थिक हिनामिनाबारे अनुसन्धान भईरहेकोले जंगलमा रहेको काठ संकलन तथा विक्रि वितरण गर्न समूहले नसकेको जनाएको छ। पुरानोले नयाँ समुहलाईकुनै पनि कुरा हस्तान्तरण नगरेकोले काम गर्न नपाएको गंगामाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिलबहादुर खत्रीले बताए।

लामो समयदेखि जंगलमै काठहरु अलपत्र हुँदा आगोले नष्ट भएको र साना मुढाहरु चोरीनिकासी हुन थालेको गंगामाला वन समुहमा २५ वर्षदेखि वन रक्षकमा कार्यरक्त ६९ वर्षका गोकुल सिजापतीमगरले बताए। यहाँ २०७५/०७६ बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भए अनुसार रुखहरु काटिएको थियो। ३ सय बढी घरधुरीहरु यो समूहमा आवद्ध छन्। रुखहरु काटिसकेपछि डिभिजन वन कार्यालयबाट रुखहरु जहाँ जे अवस्थामा अर्को सूचना नआउने बेलासम्म त्यही अवस्थामा छोड्नु भन्ने निर्देशन आएपछि काठहरु त्यहि अवस्थामा रहेको ईलाका वन कार्यालय लेकवेशीका रेञ्जर घनश्याम चपाईले बताए।

वन पैदावार संकलन तथा विक्रि वितरण निर्देशिका २०७१ अनुसार काम गर्नु भनेर मन्त्रालयबाट एक वर्षअघि निर्देशन आएअनुसार काम भईरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ। घाटगदि गरिएका काठहरु तत्काल पहिलो चरणमा व्यवस्थापन गरेको अरु दोस्रो चरणमा गरिएको भएपनि गंगामालामा नयाँ र पुराना समूहको आन्तरिक विवादले ढिलाई भएको डिभिजन वन अधिकृत सुर्खेतका प्रमुख मुनबहादुर रावतले बताए। ‘वन समूहको आन्तरिक विवादका कारण रोकिएपनि अव छिटटै काठहरु व्यवस्थापन प्रकृयामा लैजाने छौं।’ डिभिजन प्रमुख रावतले भने, प्रदेश वन निर्देशकको संयोजत्वमा बैज्ञानिक वनमा भएका काठहरु संकलन तथा विक्रि वितरणका लागि रिर्पोट तयार भएपछि प्रकृयमा लैजाने भएअनुसार काम भईरहेको छ।’

गंगामाला सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक विवादका कारण काटिएका काठ संकलन तथा विक्री वितरण नभएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ। ‘गंगामाला सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक हिनामिनाको आन्तरिक विवाद छ।’ एक उपभोक्ता समितिका पदाधिकारीले भने, आर्थिक हिनामिनाबारे अनुसन्धान भईरहेकोले काटेका काठ निकासी रोकिएर समूह र राज्यलाई ठूलो क्षति भएको छ।’