☰ open Loading... 30 November 2024|  

मानव बेचबिखन रोक्न जड नै उखेल्नुपर्छ
  | ५ फाल्गुन २०७८, बिहीबार ०५:५१

सुर्खेत। मानव बेचबिखन तथा ओसार पसार रोक्न सचेतना गाउँ गाउँसम्म फैलाउन कर्णालीका सरोकारवालाहरुले जोड दिएका छन । नेपाल कानुन समाज कर्णाली प्रदेशले आयोजना गरेको भच्र्यौल अन्तरक्रियामा आफ्ना धाराणा राख्दै उनिहरुले सचेतनाका कार्यक्रमहरुलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय पूर्व डिन तथा नागकि समाजका अगुवा पिताम्बर ढकालले मानव बेचविखन तथा ओसार पसार रोक्न सबै नीकाय एकतावद्ध भएर सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले पनि मानव बेचबिखनका घटनाहरु भएपनि बाहिर नआएको भन्दै यस सम्बनधीका घटनाहरु भित्रभित्रै बढेको बताइन । उनले भनिन, ‘सुर्खेतमा पनि मानव बेचबिखन धेरै हुने गरेका छन । तर त्यस्ता घटना बाहिर आउँदैनन, केही बर्ष अगाडी सुर्खेतमा एउटा घटना भएको थियो, एकजना महिलालाई ललाई फकाई गरेर लगिएको रहेछ, तर घर परिवारले बाहिर भनेका थिएनन, पछि त्यस विषयमा सोधखोज संघ संस्थाहरुले गरेपछि मात्रै त्यो घटना बाहिर आयो, एउटा घटनामा संलग्न एउटा समुह नै रहेछ ।’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम एसएसपी राजेन्द्र सिंह खड्काले कामको प्रलोभन देखाएर, बिवाह गरेको नाटक गरेर मानव बेचविखन तथा ओसारपसारका घटनाहरु भइरहेको बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारीहरुले पनि सचेतनाका कार्यक्रमलाई जोड दिएका छन । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले गरिबी अशिक्षा र बेरोजगारी समस्या नै मानव बेचबिखनको मुल जड भएको बताए । सचेतनामुलक कार्यक्रम संचालन गरेर यस्ता घटना कम गर्न सकिने भन्दै बेरोजगारी समस्या र गरिबी न्युनिकरणमा सबै नीकायले ध्यान दिनुपर्ने उनले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयका सुर्खेतका उप न्याधिवक्ता नरेन्द्र लम्साललेस्थानीय तहसम्म नै ऐनको कार्यान्वयन गर्न सकेको खण्डमा मानव बेचविखन कम गर्न सकिने बताए । उनले ऐनमा भएका केही व्यवस्थाहरु समेत सच्याउन आवश्यक रहेको औल्याए । जिल्ला न्यायधिवक्ता कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले पनि आफ्नो भनाई राख्दै कानुन कार्यान्वयनमा जोड दिएका छन । उनिहरुले ऐनमा भएका केही व्यवस्थाहरु संशोधन गरेर लैजानुपर्नेमा जोड दिएका छन । महान्याधिवक्ताको कार्यालयका सह न्याधिवक्ता लोकराज पराजुलीले पनि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धिका ऐन संशोधन आवश्यक रहेको बताए ।