☰ open Loading... 5 February 2025|  

सुर्खेतमा निषेधाज्ञा तोकियो
  | १८ फाल्गुन २०७८, बुधबार ०५:१३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एमसीसीविरुद्ध सोमबार नेपाल बन्दको क्रममा प्रदर्शनकारीले आगजनी र भौतिक क्षति गरेपछि सोमबार साझदेखि जारी कर्फ्यु मंगलबार साँझ ७ बजेबाट स्थानीय प्रशासनले हटाएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ति र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले बिरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको थियो ।

दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिँदा जारी कर्फ्यु ७ बजेबाट हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले जानकारी दिनुभयो । उहाँले कर्फ्यु अवधिमा अवस्था शान्तिपूर्ण नै देखिएकाले संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा तोक्ने बताउनुभयो ।

प्रशासनले यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी निशेधाज्ञा क्षेत्र तोकिएको छ । यसअघि मंगलबार कफ्र्यु तोड्दै आज पनि प्रदर्शन भएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन । प्रदर्शनकारीले नेपाली कांग्रेस र माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफेड गरेका थिए ।