☰ open Loading... 5 February 2025|  

किवी खेतीतर्फ किसानको आकर्षण
  | २ चैत्र २०७८, बुधबार १८:३६

 

यामराज बिष्ट  दैलेख ।पछिल्लो समय किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाँउघरबाट मनिसहरु शहर केन्द्रित हुँदै आएको समयमा बाँझो रहेका जमिनमा किवी खेती गरेर किसानहरुले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

 

विसं २०७५ सालमा १० वटा किवीका बोटबाट किवी खेती शुरु गरेका भैरवी गाउँपालिका–७ का राजेश कँडेलको गाँउमा अहिले ३५ जना किसानले २८ सय किवीका बोट रोपेका छन् । कृषि पढ्दै गरेका राजेशलाई नेपालको पूर्वी जिल्लाहरूमा लटरम्म फलेको किवी देखेपछि आफ्नो ठाउँमा पनि किवी खेती गर्ने रहर जाग्यो । यस क्षेत्रमा किवीको सम्भावना राम्रो देखेकाले आफुले  व्यावसायिक किवी खेती शुरु गरेको उनले  बताए ।

 

‘मलाई गाउँलेले शुरुमा बारीमा किवी लगाएको देखेर यस्तो लामो समय नफल्ने बोट लगाएर मकै, कोदो हुने बारी मास्यो भन्थे,’ विगतका दिन स्मरण गर्दै कँडेलले भने, ‘अहिले तिनै गाउँलेले पनि कोदो, मकैको ठाउँमा किवी खेती गर्न थालेका छन् ।’

 

गाउँलेहरुमा विस्तारै व्यावसायिक कृषिको सोच विकास भएको बताउँदै उनले अगाडि भने, ‘विस्तारै कृषि पेशाप्रतिको सोच परिवर्तन हुँदै गएको छ, अहिले किवी खेतीप्रति दर्जनौं किसानको आकर्षण रहेको छ ।’

 

‘सुरुको तीन वर्षमै एउटा बोटमा २० केजीसम्म फलेको थियो, चार वर्ष भयो यसपाली त एउटै बोटमा ९० केजीसम्म किवी फल्यो’, कँडेलले भने, ‘अहिले किवीको माग पनि बढ्दो छ, आम्दानी पनि राम्रै हुन थालेपछि धेरै विरुवाहरू खरिद गरेर लगाएका छौँ ।’

 

उत्पादन भएको फल सुर्खेतमा लगेर बेच्ने गरेको उनले सुनाए । उनी कृषिसँगै सम्बन्धित बीएसीएजी पढ्दै छन्, पढाइसँगै उनी गाउँकै एउटा सहकारी संस्थामा पनि आवद्ध छन् । अहिले उनले आफ्नो गाउँमा रहेको करिब २०० रोपनी जग्गामा किवीका विरुवाहरू रोपेका छन् ।

 

उनले भने, ‘अहिले सबै जग्गामा किवी खेती गरेका छौँ, राम्रो भयो भने एक रोपनी जग्गामा मात्रै लागाएको किवी खेतीले पनि वार्षिक न्यूनतम ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

 

यसलाई व्यावसायिक बनाउन अहिले गाउँभरिका अन्य किसानहरू पनि किवी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक किवी खेतीबाट प्रशस्त आम्दानी हुने सम्भावना देखेपछि गाउँका ३५ जना किसानले करिब चार सय रोपनी जग्गामा दुई हजार आठ सय किवीका विरुवा लगाएको कँडेलले बताए । उनी आवद्ध तिनचुले हिमाली बागवानी पशु तथा कृषि सहकारी संस्थाका ५० सदस्यमध्ये ३५ जनाले किवी खेती शुरु गरेका हुन् ।

 

किवी खेतीलाई व्यक्तिगत भन्दा पनि सामूहिक बनाउनका लागि सहकारीमार्फत अहिले खेती शुरु गरेको सहकारीका अध्यक्षसमेत रहेका कँडेलले बताए । उनका अनुसार अहिले त्यहाँका किसानलाई किवी खेती गर्नका लागि कर्णाली प्रदेश कृषि मन्त्रालयमार्फत कृषि विकास कार्यालय दैलेखबाट किवी ब्लग कार्यक्रमअन्तर्गत करिब १० लाख रुपैयाँ बराबर सहयोग मिलेको छ । एउटै रुखमा ८० देखि ९० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो ३०० सयदेखि ६०० रुपैयाँसम्ममा सजिलै बिक्री हुने गरेको कँडेलको भनाइ छ ।

 

किवी खेतीका लागि गुराँस गाँउपालिका, नौमुले गाँउपालिका, महाबु गाँउपालिका, डुवेश्वर गाँउपालिका, भैरवी गाँउपालिकाको हावापानी र भूगोल मिलेकाले जिल्लामा किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले बताए ।

 

किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले १८.५ हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती हुँदै आइरहेको छ । कृषि विकास कार्यालय दैलेखले ७ हजार ४ सय १० किवीका बोटहरु वितरण गरेको उनले बताए ।