सुर्खेत: कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलोपटक गएको पुस २७ गते कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्यो । गठन भएको झन्डै एक वर्षपछि कर्मचारीका लागि विज्ञापन गरेपनि परीक्षा सञ्चालनको प्रक्रिया सहज रूपमा अघि बढ्न सकेन । उक्त परीक्षाको कार्यतालिका बीचमै प्रभावित बन्यो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहको विज्ञापन खोलिएको थियो । प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि लिखित परीक्षा लिने अन्तिम तयारी चलिरहेका बेला परीक्षा नै स्थगित गर्नुपरेको हो । विज्ञापन समावेशी नभएको भन्दै आयोगविरुद्व सर्वोच्च अदालतमा रिट पर्यो । जसले गर्दा आयोगको पूर्वनिर्धारित कार्यतालिकामा असर पुग्यो । तत्कालका लागि परीक्षा स्थगित गरियो ।
प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई छुुट्टै आरक्षण कोटा नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश दियो । अन्तरिम आदेशले फागुन १४ देखि चैत २६ गतेसम्म परीक्षा सञ्चालन गर्ने आयोगको कार्यतालिकामा असर पर्यो । यद्यपि, केही दिन पहिले सर्वोच्च अदालतले उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै उत्प्रेषण आदेश गरिसकेको छ । यो आदेशसँगै रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी भएको छ । प्रदेश लोक सेवा आयोगको बैठकले यसअघि स्थगन भएका परीक्षा वैशाख १० देखि सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ ।
आयोगले योभन्दा पहिले पनि थुप्रै कानुनी प्रक्रियामा अल्झिनु प¥यो । प्रदेश लोक सेवा ऐन २०७५ चैत २७ गते प्रदेशबाट पारित भएको थियो । उक्त ऐनमा त्रुटि देखिएपछि पटक–पटक संशोधन गर्नु परेको थियो । आयोगको ऐनले पूर्णता पाउन ढिलाइ हुँदा लामो समय परीक्षालगायतका कुनै पनि गतिविधि सञ्चालन हुन सकेनन् । कानुनी प्रक्रिया मिलेपछि पनि आयोग आफैंले कर्मचारी जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेल्यो । आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय भन्छन्, ‘यसबीचमा आयोगले थुप्रै कानुनी जटिलताहरू बेहो¥यो । यस्तो अवस्था नआएको भए कर्मचारी पदपूर्तिमा यति ढिलाइ पक्कै हुने थिएन ।’ उनले आयोग गठन भएदेखि थुप्रै अड्चन आएपनि आफूहरू निरन्तर लागिपरेको र सरकारबाट पनि आवश्यक सहयोग प्राप्त भइरहेको जनाए ।
आयोगको गतिमा बाधा पुग्नुको अर्को कारण कर्मचारी जनशक्ति पर्याप्त नहुनु पनि हो । प्रदेशमा आवश्यक कर्मचारी सिफारिस गर्ने निकाय नै जनशक्ति अभावमा छ । आयोगमा पाँचौं तहका कर्मचारी मात्रै दरबन्दीअनुसार छन् । छैटौं र आठौं तहका कर्मचारीको अभाव छ । त्यस्तै, आयोगमा महाशाखा प्रमुख (उपसचिव) एक जना पनि छैनन् । आयोगमा विभिन्न पदका लागि ४५ जना कर्मचारीको दरबन्दी छ । त्यसमध्ये करिब ३० प्रतिशत कर्मचारीको पदपूर्ति अझै भएको छैन । थोरै जनशक्तिका बीचमा पनि ‘टिम स्प्रिड’ राम्रो भएकाले आयोगले आफ्ना गतिविधि अघि बढाउन सकिरहेको अध्यक्ष उपाध्यायको भनाइ छ ।
कर्णालीले विगतदेखि नै कर्मचारी जनशक्तिको चरम अभाव खेप्दै आएको छ । प्रदेश लोक सेवा आयोग गठन भएपछि धमाधम पदपूर्ति हुने र जनशक्तिको समस्या हट्ने ठानिएको थियो । तर, आफै अनेकन अड्चनमा परेपछि आयोगले परीक्षा सञ्चालनमै ढिलाइ हुँदा कर्मचारी अभाव ज्युँका त्युँ रहिरहेको हो । प्रदेशका मन्त्रालय, जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा न्यून जनशक्तिका भरमा सेवा प्रवाह गरिरहनु परेको सरकारी अधिकारीहरूले बताएका छन् । मन्त्रालय र संवैधानिक निकायमा नै दरबन्दीअनुसारका कर्मचारी नभएपछि दैनिक प्रशासनिकदेखि नियमित सेवा सञ्चालनमा चुनौती हुने गरेको छ । कर्णाली सरकारले दुई वर्षअघि प्रदेश अन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दुई हजार पाँच सय ५५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार अहिले पनि प्रदेशमा ४५ प्रतिशत हाराहारी कर्मचारीको दरबन्दी रिक्त छ ।
स्थगित परीक्षा वैशाख १० देखि
प्रदेश लोक सेवा आयोगले यसअघि स्थगित गरिएका परीक्षा सञ्चालन गर्ने भएको छ । सहायकस्तर पाँचौ तहका लागि २०७९ वैशाख १० देखि असार ११ गतेसम्म लिखित परीक्षा सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । सहायकस्तर पाँचौं तह महिला विकास निरीक्षक पदको लिखित परीक्षा वैशाख १० गते दिउँसो १ बजे सञ्चालन गरिने भएको छ । सहायक, लेखा सहायक, लेखापाल र आन्तरिक लेखापरीक्षकको परीक्षा वैशाख १७ गते दिउँसो १ बजे निर्धारण गरिएको छ ।
यस्तै, पशु सेवा प्राविधिक र पशु स्वास्थ्य प्राविधिकको जेठ ७, भू–संरक्षण सहायक, रेञ्जर र तथ्याङ्क सहायकको लिखित परीक्षा जेठ ९ गते गर्ने कार्यतालिका उल्लेख छ । भू–संरक्षण सहायक र रेञ्जरको बिहान ८ बजे तथा तथ्याङ्क सहायकको परीक्षा सोही दिन दिउँसो १ बजे हुने भएको हो । संग्रहालय पथप्रदर्शक पदको जेठ १० गते बिहान ८ बजे परीक्षा लिइने छ भने सोही दिन दिउँसो १ बजे कम्प्युटर टेक्निसियन पदका लागि परीक्षा सञ्चालन हुनेछ । यस्तै, प्राविधिक सहायकको १३, कम्प्युटर अपरेटरको १५ र सव इन्जिनियरको जेठ २१ मा परीक्षा गर्ने कार्यक्रम आयोगले सार्वजनिक गरेको छ ।
यसअघि सहायकस्तर पाँचौं तहको परीक्षा फागुन १४ बाट सञ्चालनको तयारी गरिएकोमा त्यसको तीन दिन पहिले फागुन ११ गते आयोगले स्थगित गर्ने निर्णय गरेको थियो । सर्वोच्चमा परेको रिटले झन्डै दुई महिना परीक्षा कार्यतालिका पर धकेलिएको हो । आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यका अनुसार स्थगन भएका परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक गरेर आयोग पुनः तयारीका जुटेको छ ।
आयोगले सहायकस्तर चौथो तहको लिखित परीक्षा कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार आउँदो असार १७ देखि भदौ १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछन् ।साझा बिसौनी