सल्यान । गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन् । काटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो । तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन् ।
सुरुमा राहत पाइन्छ की भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको छ । पाँच महिना भन्दा बढी भइसक्दा समेत राहत नपाएको कुमाख गाउँपालिका–३ रागेचौरका किसान लिलाधर केसीले बताए । आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने गरी भिजेको उनको भनाई छ । सरकारले किसानलाई राहत भन्दा बढी आश्वासन मात्र दिएको केसीले बताए ।
जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको र किसानले करिब ३० हजार मेट्रिक टन धान उत्पादन गरेकोमा कुल उत्पादनको २७ दशमलव ८५ प्रतिशत अर्थात् २ हजार ८ सय ६ मेट्रिक टन धानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्याङ्कमा रहेको छ।
क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाएको भएपनि राहत नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले जानकारी दिए ।
दश वटै पालिकाबाट क्षतिको विवरण सङ्कलन गरी सम्बन्धित मन्त्रालयमा पठाएको भए पनि हालसम्म राहत नआएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए ।