काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश र केन्द्र सरकारमा सँगै रहेका दलहरुबीच चुनावी गठबन्धनको बिभिन्न मोडलमा छलफल चलिरहेको छ । गठबन्धन गर्न चारै (दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा) तयार छन् । तर, आफ्नो पार्टीलाई सक्दो बढी सिट दिलाउने प्रयास उनीहरुको छ ।
गठबन्धन गर्दा कम सिटमा खुम्चनुपर्ने हो कि ! भन्ने भयले कांग्रेसका कतिपय नेताहरुले चुनावी गठबन्धन गर्न नहुने बताइरहेका छन् । यही बेला नेताहरुबीच नेपाली कांग्रेसले अधिकतम सिट पाउनेगरी चुनावी गठबन्धन गर्ने मोडलमा छलफल चलिरहेको छ । यही कुरा आइतबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक गरेका छन् ।
प्रेस युनियन बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेसले अधिकतम सिट पाउनेगरी गठबन्धन हुनसक्ने बताए । उनका अनुसार, स्थानीय निर्वाचनमा धेरै भन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले अहिलेको गठबन्धन कायमै रहनेछ । ‘पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो’, महतले भने ।
बढी सिट जित्न निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने भएकाले चुनावी गठबन्धनको बिभिन्न मोडलमा छलफल चलिरहेको उनले बताए । कांग्रेसले बढी सिट पाउने मोडलमा जान सबै तयार हुँदा समस्या नहुने उनको भनाई छ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत कांग्रेसकै लागि चुनावी गठबन्धन आवश्यक रहेकाले ऊ गठबन्धनबाट भाग्न नसक्ने बताउँछन । कांग्रेसका केही नेताहरुले गठबन्धन नगरौं भन्नुको पछाडि दुई वटा कारण रहेको उनको बुझाई छ ।
एक– पार्टी भित्रको अन्तरसंघर्ष । दुई– बढी सिटमा दाबी गर्ने आधार बनाउने । यी दुबै कारण कांग्रेस नेताहरु लाग्दा स्वमं कांग्रेसलाई फाइदा हुने भएकाले उनीहरु गठबन्धन गरौं भन्ने, नगरौं भन्ने बहसमा आफैँ उत्रिएको नेता बस्नेतको विश्लेषण छ ।
‘आन्तरिक प्रतिस्प्रधामा अब्बल देखिनु छ । पार्टीका कार्यकर्ताको कुरा बुझेको देखाउनु छ । आफ्नो गुट बलियो बनाइराख्नु छ । यी कांग्रेसभित्रका कुरा भए । यही कुराले गठबन्धनबारे अनेक कुरा उनीहरुबाटै आइरहेका छन्’ उनले भने ।
यसरी गठबन्धन गर्न कांग्रेस कार्यकर्ता तयार छैनन् भन्ने देखाएर गठबन्धनमा रहेका दलहरुलाई कम र आफुलाई बढी सिटमा दाबीकर्ताका रुपमा प्रस्तुत गर्ने कांग्रेसी सोचले गठबन्धनमा रहेका नेताहरुलाई झस्काएको बताउँछन् माओवादी केन्द्रका अर्का नेता बर्षमान पुन ।
‘कांग्रेसले अनावश्यक कुरा गरेर गठबन्धनमा बार्गेनिङ गर्न खोजेको हो भन्ने बुझेका छौं । हामीले नै सरकारमा पुर्याएको हामीसंगै बार्गेनिङ गर्ने कुरा कसरी राजनैतिक हुन सक्छ ?’ नेता पुनको प्रश्न छ ।
गठबन्धन गर्ने र कसले कति सिटमा कसरी दाबी गर्ने भन्ने विषयमा छलफल हुन सक्ने उल्लेख गर्दै उनले थपे, ‘गठबन्धन चाहिँदैन भनेर बार्गेनिङ गर्न थालियो भने साच्चै गठबन्धन नहुन सक्छ । राजनीतिले नयाँ मोड लिन्छ ।’ त्यो नयाँ राजनीतिक मोड के हुने ? भन्ने प्रष्ट नभने नि उनले अन्य बामपन्थीहरु एक हुन सक्नेतर्फ संकेत गरे ।
‘कांग्रेस गठबन्धनका लागि तयार नभए बाँकी रहेका बामशक्तिहरु एक हुन सक्छन् । एमालेसँग गठबन्धनको ढोका पनि बन्द नै गरेका छैनौं’ नेता पुनले भनेका छन् । तर, कांग्रेसकै लागि गठबन्धन चाहिएकाले कांग्रेस सहितको गठबन्धन कायम रहने उनको विश्वास छ ।