सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक निर्माणका लागि एक हजार चार सय १५ वटा रूख कटान गर्नुपर्ने छ । सुर्खेतस्थित राजमार्ग योजना कार्यालयले गएको भदौदेखि उक्त प्रक्रिया अघि बढाएको थियो । कार्यालयले सडक विस्तारका लागि रूख कटानको अनुमति लिन प्रक्रिया थालिएको सात महिनासम्म पनि अनुमति पाएको छैन । कर्मचारीहरू महिनौदेखि फाइल बोकेर सम्बन्धित निकायमा धाइरहेका छन् । टाँचा लगाएका रूख कटानको अनुमति नपाउँदा सडक विस्तारको गति सुस्त बनेको छ । अहिले वन क्षेत्र नभएका स्थानमा मात्रै स्तरोन्नतिका काम भइरहेका छन् । सडक विस्तार गर्नुपर्ने अधिकांश ठाउँमा वन क्षेत्र पर्छ ।
प्रत्येक सामुदायिक वन र वनसँग सम्बन्धित माथिल्ला निकायहरूसँग छुट्टा–छुट्टै स्वीकृति लिनुपर्ने भएपछि प्रक्रिया झनै लम्बिएको छ । सडक विस्तारमा वन क्षेत्र मात्र नभइ विद्युतका संरचना पनि बाधक बनेका छन् । विद्युतका पोललगायतका संरचना हटाउन पनि लामो समयदेखि कर्मचारीहरूको दौडधुप चलिरहेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले विद्युतका पोल, हाइटेन्सन लाइन, ट्रान्सफर्मरलगायतका संरचनालाई सार्ने कामको टिप्पणी फाइल भर्खरै स्वीकृत भएको बताए । ‘बल्ल विद्युत प्राधिकरणबाट फाइल स्वीकृति भएको छ,’ उनले भने, ‘अब संरचना सार्ने काम कार्यान्वयनमा जानेछ ।’ प्राधिकरणले अनुमति दिएसँगै विद्युतको लाइन हटाउन बाधा नरहेपनि रूख कटानको विषय भने अझै टुङ्गो लागेको छैन । वनका रूख हटाउने सन्दर्भमा केही कुरा बाँझिएको लामिछाने बताए । ‘वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई)मा थोरै रूख कटान गरे हुने भन्ने थियो,’ उनले भने, ‘त्यसपछि सब डिभिजनहरूबाट फिल्डमा नाप–जाँच गर्दा हटाउनुपर्ने रूखको संख्या धेरै निस्कियो ।’ पहिलेको प्रतिवेदनमा उल्लेख भएकाभन्दा बढी रूख कटान गर्नुपर्ने देखिएपछि त्यसमै समस्या भइरहेको हो ।
रूख कटानको स्वीकृत पाएपछि मात्रै वनले ओगटेको क्षेत्रको जग्गा प्राप्ति हुने व्यवस्था छ । सडक विस्तार क्षेत्रमा पर्ने वनको जग्गा नेपाल सरकारसँग किन्नुपर्ने प्रावधान रहेको जनाइएको छ । सडक विस्तार योजनामा वन क्षेत्र र विद्युतका संरचनाका कारण काममा ढिलाइ हुँदै आएको छ । राजमार्गअन्तर्गत सडक विस्तारका लागि सुर्खेतको पूर्वी क्षेत्रमा साना ठूलागरी झन्डै पाँच हजार रूख हटाउनुपर्ने देखिएको छ । हाल धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । यो सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार–विस्तार गर्न लागिएको हो । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई विस्तार गरी नौ मिटर बनाइने भएको छ । कालोपत्र गर्नेगरी अघि बढाइएको सडक दुई लेनको बनाइँदै छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सब–इन्जिनियर टोपनारायण पौडेलले यतिबेला वन क्षेत्र नभएका ठाउँमा सडकलाई चौडा बनाउन साइड कटिङलगायतका कामहरू चलिरहेको जनाए । उनका अनुसार नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, वाल निर्माण तथा ग्राबेल गर्ने जस्ता काम भइरहेका हुन् । राष्ट्रिय राजमार्गको मापदण्डअनुुसार नै सडक विस्तारका कामहरू भइरहेको उनी बताउँछन् । ‘प्रक्रियागत काममै धेरै समय अल्झिनु परेकाले केही बाधा पक्कै भएको छ,’ सब–इन्जिनियर पौडेलले भने, ‘वन क्षेत्र र विद्युतका संरचनाका कारण योजनाका कामले अपेक्षाकृत गति लिन सकेका छैनन् ।’
सरकारले राष्ट्रिय महŒवको योजनामा राखेको मदनभण्डारी राजमार्ग सुर्खेतको पूर्वी क्षेत्रमा ३५ किलोमिटर पर्छ । यो खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने नभइ पुरानै सडक विस्तार गर्नुपर्ने छ । यसअघि नै बनेका सडकलाई जोडेर स्तरोन्नति गरिने योजना रहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकवेशी र गुर्भाकोट नगरपालिकाका भू–भाग छुन्छ । सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको योजना कार्यालयले जनाएको छ । लागत अनुमानभन्दा ४१ प्रतिशत घटेर निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।
सब–इन्जिनियर पौडेलले सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम भने सुरु हुन अझै केही समय लाग्ने बताए । उनका अनुसार यो सडक खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) लगायतका काम अझै भएका छैनन् । विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) तयार गरिएपनि अन्य कतिपय प्राविधिक रिपोर्टका काम हुन बाँकी रहेको उनले जनाए । राजमार्ग अन्तर्गत पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्छ । जसमध्ये १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले स्तरोन्नति गर्ने जनाएको छ । प्रदेशले त्यसका लागि चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरी निर्माण प्रक्रिया अघि बढाइसकेको छ । अरु खण्डको स्तरोन्नतिको कामको भने टुँगो नलागेको हो । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने पश्चिम खण्डको सडकमा पनि जग्गा प्राप्ति तथा अन्य प्रक्रियागत काममा ढिलाइ हुँदै आएको छ ।साझा बिसौनिबाट