जुम्ला । कर्णाली प्रदेशको दुर्गम हुम्ला जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित विशेषज्ञ सेवा दिने भएको छ । दुर्गम हुम्लामा जुम्लाबाट विशेषज्ञ डाक्टर पठाएर जटिल खालका शल्यक्रियादेखि अन्य विशेषज्ञ सेवा सञ्चालन हुने भएको हो ।
हुम्लामा विशेषज्ञ सेवा निरन्तरताका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । एक महिना अघिदेखि हुम्ला जिल्ला अस्पतालमा सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालय र कर्णाली प्रतिष्ठानबीच शुक्रवार दुई पक्षीय सम्झौता भएको हो ।
कर्णाली प्रतिष्ठान मन्त्रालयकाबीच भएको सम्झौता एक आपसमा शुक्रवार आदान प्रदान भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।मङ्गल रावलले बताए ।
“हुम्लामा कर्णाली प्रतिष्ठानबाट एमडीजीपि डा;क्रिशान्त भण्डारी पठाएर हुम्ला जिल्ला अस्पतालमा एक महिना अघिदेखि विशेषज्ञ सेवा सुरु भइरहेको छ । थप दुई जना विशेषज्ञ डाक्टर पठाउने र विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयबीच सम्झौता भएको छ । आगामी वैशाखभन्दा अगाडी नै जुम्लाबाट विशेषज्ञ डाक्टर हुम्ला पठाइने छ ।”, डा; रावलले भने।
हुम्लामा सर्किजल सेवा, ओटी सेवा र गाइनोलोजीष्ट लगायतका विशेषज्ञ सेवा सञ्चालनका लागि थप दुईसहित तीन जना एमडीजीपि डाक्टर पठाइने उपकुलपति डा;रावलले बताए ।
जटिल प्रकारका शल्यक्रिया हुम्लामै गर्न, जटिल बिरामी रेफर रोक्न स्थानीयलाई जिल्लामै सस्तोमा विशेषज्ञ स्वास्थ्य सेवा दिने मन्त्रालयको लक्ष्य अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा सेवा दिने तयारी गरेको छ ।
देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला रोजेको हो ।
अब दुर्गम हुम्लाका नागरिकले हुम्लामै जटिल खालका शल्यक्रियादेखि उपचार पाउने छन् । भने महँगो खर्च गरेर जुम्ला,सुर्खेत नेपालगन्ज काठमाडौँ लिएर उपचार गराउनु पर्ने बाध्यताबाट हुम्ला बासी मुक्त हुने छन् ।