| ९ चैत्र २०७८, बुधबार ०५:११
हुम्ला — २१ करोड रुपैयाँको बजेटबाट हुम्लामा जिल्ला अस्पतालमा भवन निर्माणको काम सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार अस्पतालको शिलान्यास गरे ।
दुई वर्षभित्रै काम सक्ने गरी ठेकेदार कम्पनीसँग भवन निर्माणको सम्झौता गरिएको छ । अस्पताललाई ५० शय्याको बनाउन भवन निर्माणको काम थालिएको मुख्यमन्त्री शाहीले बताए । उनले गुणस्तरसहितको भवन निर्माणको काम समय सीमाभित्रै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
‘स्वास्थ्यकर्मीको व्यवहार र अस्पतालको वातावरणले पनि बिरामीको आधा समस्या हल हुन्छ,’ उनले भने, ‘त्यसका लागि अस्पताललाई सुविधासम्पन्न बनाइन लागिएको छ ।’ भवन निर्माणको जिम्मा प्रेरणा/क्याराभान/बुद्ध जेभीले लिएको छ ।