☰ open Loading... 16 November 2024|  

बाँकेमा क्षयरोगबाट मृत्यु हुनेको संख्या घट्दो
  | १० चैत्र २०७८, बिहीबार ०५:०९

कोहलपुर : बाँकेमा क्षयरोगबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ । चालू आर्थिक वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ ।

गएको वर्ष क्षयरोगबाट ३७ जनाको मृत्यु भएको थियो । यस्तै चालू आर्थिक वर्षकोे ६ महिनामा ४ सय ९४ जना क्षयरोगी फेला परेका छन् । गएको वर्ष बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए ।

 

सबैभन्दा धेरै नेपालगञ्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् । यस्तै राप्ती सोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले बताए ।

 

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, टिभी नेपाललगायतका संघसंस्थाले बुधबार नेपालगञ्जमा सरोकारवाला तथा सञ्चारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।

 

बाँकेमा प्रत्येक वर्ष १३ सय ८६ जना उपचारको दायरामा आउनुपर्ने हो । तर अहिले उपचारको पहुँचमा ४ सय ९४ जना मात्रै आएको तथ्यांकमा उल्लेख छ ।