☰ open Loading... 16 November 2024|  

वीरेन्द्रनगरको नेतृत्वमा आकांक्षी को-को ?
  | ११ चैत्र २०७८, शुक्रबार ०५:२७

वीरेन्द्रनगरको नेतृत्वमा आकांक्षी को-को ? 

सुर्खेत ११ चैत्र । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्न थालेको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्दनगर नगरपालिकामा पनि निर्वाचनको सरगर्मी बढ्ेको हो। स्थानीय तहमा हुने सरकारको नेतृत्व गर्न सबै पार्टीले आ–आफ्नो उम्मेदवार छान्ने छन्। पार्टीले टिकट दिनुपूर्व पनि नेताहरुले आआफ्नो तर्फबाट लबिङ सुरु गरेका छन्।

वीरेन्द्रनगरलाई दीर्घकालीन भौतिक पूर्वाधार, विकास र समृद्ध वीरेन्द्रनगरको परिकल्पनासहित विभिन्न दलका विभिन्न व्यक्तिहरुले आउने स्थानीय निर्वाचनमा नेतृत्व लिने तयारी  गरिरहेका छन्। स्थानीय तहको निर्वाचन र संघीयतापछिको पहिलो स्थानीय सरकारले विदाई गर्दै गर्दा आउने दोस्रो स्थानीय सरकारले कसरी काम गर्ने र कस्ता योजनाहरु बनाएर अघि बढ्ने भन्ने विषयमा नै नेतृत्वको दाबी गरेकाहरुले छलफल गरिरहेको बताएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका दलहरुले वीरेन्द्रनगरको नेतृत्वको लागि प्रतिष्पर्धा गर्ने छन्। यसअघि नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका देवकुमार सुवेदीलाई कांग्रेसले दोहो¥याउँदैन्। सुवेदीले नेपाली नगरप्रमुख पपुलर मत ल्याएर जितेका कारण अहिले प्रदेशमा जाने इच्छा व्यक्त गरेकाे कांग्रेस श्राेतकाे भनाइ छ।  उनी पुनः नेतृत्वमा नआउने भएपछि अहिले नेपाली कांग्रेसको तर्फबाट उपेन्द्र खड्का, भुपेन्द्र खत्री, नारायण कोइराला, चन्द्र थानी र जानकी सिंहले नगरको नेतृत्व लिन आकांक्षा देखाएका छन्।

उपेन्द्र खड्का नेपाली कांग्रेसको नगर सभापति पनि हुन्। भने भ नारायण कोइराला नगरसभापतिमा पराजित भएका व्यक्ति हुन्। यस्तै नगरसभापति खड्का र जानकी सिंह नेपाली कांग्रेसको संस्थापन पक्षका नेता हुन्। नारायण कोइराला र चन्द्र थानी संस्थापन इतर पक्षका नेताहुन्। गएको स्थानीय निर्वाचनमा संस्थापन इतरपक्षले लिएको टिक यस पटक स्थापन पक्षले लिने सम्भावना रहेको छ। यसकारण उपेन्द्र खड्का र जानकी सिंह आउने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार हुन सक्छन्।

नगरसभापति खड्का मेयरको टिकट पाउने पहिलो अधिकार आफ्नो भएको बताउँछन्। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समय रहेका खड्का ११ वर्षदेखि कांग्रेसको नगरसचिवको भूमिकामा थिए। नगरसचिव भएका बेला पार्टीको संगठन विस्तार सुदृढीकरण गर्न खड्काको ठूलो भूमिका रहेको छ। उनले वीरेन्द्रनगर नगरपालिकालाई प्रदेश राजधानीमा नमूना बनाउँने सपना देखेको बताएका छन्। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा थुप्रै चुनौति र सम्भावनाहरु रहेको खड्काको भनाइ छ।

खड्काले भने, ‘दिगो र गुणस्तर विकास, रोजगारी सिर्जना, आत्मनिर्भर नगरपालिका, कृषि क्षेत्रको विकास र नयाँ उद्योगको स्थापना नै मेरो मुख्य प्राथमिकतामा पर्छ।’

नेपाली कांग्रेसको कोइराला पक्षका अर्का उम्मेदवार हुन भुपेन्द्र खत्री । वडा नं. ३ का वडाअध्यक्षसमेत रहेका उनी वीरेन्द्रनगरमा इतरसमूहले उम्मेदवारी पाएको अवस्थामा नगरप्रमुखमा  आउने छन्। खत्रीलाई इतरसमूहबाट सुर्खेतको प्रभावशाली नेताका रुपमा हेरिन्छ।

यस्तै, वीरेन्द्रनगरको मेयरमा नेकपा एमालेबाट बहालवाला उपप्रमुख मोहनमाया ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्ने योजनामा छिन्। गत निर्वाचनमा लोकप्रिय मत ल्याएर उमप्रमुखमा विजयी भएकी ढकालले जनविश्वास र पार्टीमा गरेको योगदानका आधारमा पनि आफू नगरप्रमुखको दाबेदारीमा योग्य रहेको बताउँछिन्।

‘मैले उपप्रमुख हुँदा देखाएको सक्षमता पार्टीमा गरेको योगदान तथा जनताको विश्वासलाई हेरेर पार्टीले मलाई उम्मेदवार बनाउँछ भन्नेमा विश्वस्त छु,’ ढकालले भनिन्, ‘अहिले उपप्रमुख भएर काम गरिसकेकाले पनि मेरो दाबी स्वाभाविक ठान्नुपर्छ भन्ने हो । त्यसअनुसार योग्यता क्षमता पनि नभएको होइन ।’

वीरेन्द्रनगरको मेयरका लागि एमाले नगर कमिटी अध्यक्ष निलकण्ठ खना, उपाध्यक्ष कुलमणि देवकोटा र गंगाराम तिमिल्सेना पनि नगरप्रमुखको आकांक्षी हुन्। प्रदेश राजधानी भएकै कारण नगरप्रमुखका लागि सबैको चासो भए पनि पार्टीले उम्मेदवारीको लागि छलफल नगरेको नगर कमिटी अध्यक्ष खनाल बताउँछन्।

यस्तै एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटा उम्मेदवारको लागि मरिहत्ते गर्ने पक्षमा छैनन्। लामो समय वीरेन्द्रनगरमा रहेर एमालेको राजनीति गरेको अनुभव र झुप्रा बृहत खानेपानीकोसमेत अध्यक्ष भएका उनी जनताको मत र विश्वास आफूसँग भएको बताउँछन्। पार्टीले विश्वास गरेर नगर प्रखुखको जिम्मेवारी सम्हाल्ने अवसर दिएमा जिम्मेवारी सक्षमतापूर्वक निभाउने तयारीमा देवकोटा छन्।

नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखका लागि नगरकमिटी अध्यक्ष रत्न गाहा दोहोरिने सम्भावना छ। पार्टीले टिकट दिने विषयमा छलफल नगरे पनि गाहा दोहोरिने सम्भावना बढी रहेको बताउँछन्। नगरको प्रमुखका लागि हरिमाया शर्मा, टोपबहादुर दर्लामीको पनि चर्चा छ। शर्मा गएको निर्वाचनमा उपमेयरमा पराजित भएकी हुन् भने दलार्मी वडा नं. १४ का अध्यक्ष हुन्।

नगरकमिटी अध्यक्ष गाहा भने वडास्तरबाट नै छलफल गरेर नेतृत्वको लागि अघि बढ्ने बताउँछन्। गाहाले भने, ‘हामी सर्वसम्मत निर्णय गर्छौ। वीरेन्द्र नगरका सबै वडामा गएर नै छलफल गर्ने छौं। अहिले नै भन्न सकिने अवस्था छैन।’

यस्तै, वीरेन्द्रनगरको नेतृत्वको लागि चर्चामा रहेको अर्को नाम हो अनिल ढकाल । ढकाल साझा पार्टीका नेता हुन्। उनले स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्। नागरिकलाई राज्य भएको आवास दिलाउन आफूले नेतृत्व गर्ने विचार गरेको उनको भनाइ छ। तेस्रोआखाँसँग कुरा गर्दै ढकालले भने, ‘पार्टीले पनि सहयोग त गर्ला । अहिले मैले व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ। नागरिकलाई राज्य भएको आभास दिलाउन पनि मैले आफ्नो उम्मेदवारीलाई बलियो ठानेको छु।’