सुर्खेत : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दलबहादुर बिष्ट कृष्णले आफ्नो पाँच वर्षको तलब भत्ता विद्यालयलाई हस्तान्तरण गरेका छन् । उनले स्थानीय सत्यवादी माध्यमिक विद्यालयलाई पाँच वर्षको तलब भत्ता १५ लाख रुपैयाँ हस्तारण गरेका हुन् । उनले आफु जनप्रतिनिधि भएपछि पाउने तलव भत्ता उक्त विद्यालयलाई सहयोग गर्ने केही समय अगाडि नै प्रतिबद्धता जनाएका थिए । सोहि प्रतिबद्धता अनुसार नै उनले विद्यालयलाई उक्त रकम सहयोग गरेका हुन् ।
अध्यक्ष बिष्ट नेपाली कांग्रेसबाट विजयी भएका थिए । जनप्रतिनिधि बिष्टले आफुले पाएको पारिश्रमिक तलव भत्ता बाफतको सबै रकम कृष्ण पुष्पा फाउण्डेसन मार्फत सहयोग गरेका हुन् । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा उनले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सो अवसरमा उनले भने, ‘मैले विद्यालय र गरिब दिनदुखी विद्यार्थीहरुलाई सहयोग गर्ने बाँचा गरेको थिए । सोही अनुसार सहयोग गरेको हुँ । आगमी दिनमा पनि मेरो सहयोग र साथ सदैव रहनेछ ।’
उनले भने, ‘मैले पनि धेरै दुःख पाएको हुँ । म गरिवको दुःख सुखमा साथ दिने मान्छे हुँ । आगामी दिनमा पनि जनप्रतिनिधि हुँदा होस् या नहुँदा सँधै सहयोग गरिरहनेछु ।’
विष्टले उक्त रकमको वार्षिक आउने व्याजबाट गरिव छात्र छात्रालाई छात्रवृत्ती वितरण गरिने बताए । आफ्नो छोरा हाल अमेरिकामा रहेका भुवन बिष्टले पनि विद्यालयलाई एक ल्यापटप सहयोग गर्ने कार्यक्रममा अध्यक्ष विष्टले जानकारी गराए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति पृथ्वी बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने नेता चेतराज बजाल विशिस्ट अतिथि थिए । सो अवसरमा नेता रमेश भण्डारी, बिष्टकी धर्म पत्नी पुष्पा बिष्ट, पत्रकार जनप्रतिनिधि, शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।