भारतबाट उत्पादन गरिएको अवैध रुपमा सुर्खेत ल्याइँदै गरेको सुर्तीजन्य वस्तु प्रहरीले बरामद गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका-५ बबईस्थित प्रहरी चेकपोष्टमा शनिबार बिहान चेकजाँचका क्रममा सुर्तीजन्य वस्तु बरामद गरिएको हो।
लु२ख ५७८३ नम्बरको नेपालगंजबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक फोर्स गाडीलाई विशेष सुराकीको आधारमा चेकजाँच गर्दा प्रहरीले अवैध रुपमा बेवारिसे ३ बोरा १ सय ५० पिस करिब २६ हजार बरावरको सुर्तीजन्य सामान बरामद गरेको हो।
भारतबाट अवैध रुपमा ल्याइएको सुपरपावर नामक सुर्ती बरामद गरेको र गाडीमा बेवरिसे अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख दिपककुमार मल्लले बताए।
सुर्ती नियन्त्रणमा लिई मुचुल्का गरेर गाडीसहित आन्तरिक राजस्व कार्यालय कोहलपुरमा पठाइएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए। दुई महिनाअघि पनि सुर्खेत प्रहरीले ठूलो परिणममा सुर्तीजन्य वस्तु बरामद गरी राजस्व कार्यालय कोहलपुरमा पठाएको एसपी विष्टले बताए।