कोहलपुर, । बाँकेका १८६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आइतबार एक कार्यक्रमकाबीच कोहलपुर नगरपालिका–३ का १८६ घरधुरीलाई लालपुर्जा वितरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको बताइन् । आफूले मन्त्रालय सम्हालेपछि चार महिनाको अवधिमा १९ हजार ६ सय भन्दाबढी भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएकोे उनको भनाई थियो ।
गाउँ ब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम आगाडि बढाएको भन्दै उनले एक वर्षभित्रमा सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तिब्र पारिएको बताईन् । संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै उनले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमा समाधान गरिने बिश्वास व्यक्त गरिन् ।