मुगु — पर्यटक ओसार्न जहाजहरु पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लाहरूको उडान पूर्ण रुपले प्रभावित बनेको छ । जहाजहरू लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।
मुगु, हुम्ला, डोल्पा, जुम्लामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी सर्वसाधारण र कर्मचारी लगायत यात्रुहरु अलपत्र परेका छन् ।
नेपालगञ्ज विमानस्थलमा जहाज नहुँदा यात्रुलाई मुगु, हुम्ला, जुम्ला र डोल्पा जान कठिन भएको हो। यसअघि पनि प्राय: निजी एयरलाइन्सका जहाजले कर्णालीमा उडान प्रतिस्पर्धा गर्ने र पूर्वतिर पर्यटक ओसार्न जाँदा यात्रु अलपत्र परेका थिए । पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले कर्णालीलाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ ।
निजी एयरलाइन्सले हिमाली जिल्लामा दैनिक एक एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी कर्णालीमा उडान ठप्प गरेका छन् । जहाजहरु पूर्वतर्फ लागेपछि रारा घुम्न जाने पर्यटकरुलाई पनि असर परेको पर्यटन व्यवसायी देविकृष्ण रोकाया बतउँछन् ।