दैलेखको गुराँस गाउँपालिकामा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भए । हाजिर भएको एक महिना नबित्दै अधिकृत फेरिने गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओली बताउँछन् । प्रायः प्रमुख प्रशासकीय अधिकृतहरू सुगम क्षेत्रमा सरुवा मिलाएर जाने गरेको उनले जनाए । ‘कोही सुविधासम्पन्न ठाउँमा गए, कतिपय बढुवा भएर गए,’ उनले भने, ‘बारम्बार प्रशासकीय अधिकृत बदलिँदा काममा ठूलो असर प¥यो ।’ दुर्गमका स्थानीय तहमा कोही पनि कर्मचारीले बस्न रुचि नगर्ने गरेको उनको अनुभव छ । पालिकाको अवस्था बुझ्न केही समय लाग्ने भएकाले छोटो समयमात्र बस्ने कर्मचारीबाट अपेक्षित सेवा प्रवाह हुन नसकेको अध्यक्ष ओलीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत आउन बित्तिकै अर्को ठाउँमा सरुवा भइहाल्ने प्रवृत्ति रहेकाले स्थानीय तहका दैनिक प्रशासनिक कामहरू चौपट हुने गरेका छन् । वीरेन्द्रनगरमा झन्डै पाँच वर्षमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । यहाँ पनि एक जना एक वर्षभन्दा बढी समय बसेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी सरुवा भएको पालिकामा प्रमुख प्रशासकीय अधिकृतले दुई वर्ष अनिवार्य बन्नुपर्ने प्रावधान भएपनि त्यसको बेवास्ता भइरहेको बताउँछन् । स्थानीय तहमा कार्यबोझ बढी भएकाले माथिल्लो तहका कर्मचारीले लामो समय बस्न नमान्ने गरेको उनले जनाए । ‘कुनै पनि काम गर्नका लागि एक आर्थिक वर्षसम्म त बस्नुपर्ने हो,’ उनले भने, ‘महिना दिन नहुँदै कर्मचारी सरुवा बनाएर हिँडिहाल्छन् । यसले गर्दा पालिकाका काम अलपत्र पर्ने अवस्था छ ।’ वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीकोे पालिका पनि हो । अरु स्थानीय तहभन्दा सुगम र सुविधासम्पन्न भएपनि यहाँसमेत कर्मचारी लामो समय बस्न नमान्ने गरेका हुन् । नगर प्रमुख सुवेदीले कर्मचारी छिटो–छिटो सरुवा हुँदा सेवाग्राहीलाई मर्का पर्ने र दुई वर्ष बस्नै पर्ने प्रावधान विपरीत समेत भएको बताए । सरुवा सरकारको नियमित प्रक्रिया भएपनि यसलाई व्यवस्थित र कडाइ गर्न आवश्यक रहेको उनले औंल्याए ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार अन्तर्गतका कर्मचारी हुने भएकाले उनीहरूको मनोमानी बढेको कतिपय जनप्रतिनिधिहरूले बताउने गरेका छन् । जनप्रतिनिधि भन्छन्, ‘स्थानीय तहमा आउने केही कर्मचारी कार्यसम्पादन समेत कमजोर देखिन्छ ।’ सरुवा हुनका लागि स्थानीय तहको सिफारिस नचाहिने भएकाले आफू अनुकूलको ठाउँ रोजेर कर्मचारीहरू जाने गरेका छन् । स्थानीय तहमा दैनिक प्रशासनिकदेखि ऐन, कानुन लागू गर्ने र सबै खालका सिफारिस दिनेसम्मको जिम्मा प्रमुख प्रशासकीय अधिकृतको काँधमा छ । कामको चाप बढी भएकै कारण संघीय सरकार अन्तर्गतका कर्मचारी पालिकामा धेरै बस्न नरुचाउने गरेको बताइएको छ । कर्णालीका धेरैजसो पालिका लामो समयदेखि निमित्तको भरमा छन् । जसले गर्दा सेवाग्राहीको काममा ढिलासुुस्ती हुँदै आएको छ । एकातिर दरबन्दीअनुसारका कर्मचारीको अभाव झेलिरहेका स्थानीय तह अर्कोतिर भने कर्मचारी सरुवा भइरहने समस्याले हैरानीमा छन् । एक महिना नहुँदै सरुवा भइहाल्ने कर्मचारीका कारण काम रोकिने गरेको गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले बताए । उनले निमित्तका भरमा पालिका चलाउनुपर्दा नीतिगत उल्झनहरू आइरहने सुनाए । प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा कम्तीमा पालिकाको सिफारिस लिएर सरुवा गर्ने वातावरण बनाइनुपर्ने उनको भनाइ छ ।
महिनैपिच्छे पालिकाका फाँटमा कर्मचारी फेरिदा आजित बनेका चौकुने गाउँपालिकाका अध्यक्ष शाहीले स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा कर्मचारी परिवर्तन भइरहनु नै मुख्य समस्या रहेको उल्लेख गरे । ‘हाम्रोमा विकटताकाका कारणले कर्मचारी बस्न मान्दैनन,’ उनले भने, ‘कर्मचारी नभएकै कारण योजनाहरूको समयमै भुक्तानी दिनसम्म नसक्ने अवस्था छ । चौकुनेमा कर्मचारी अभावमा दैनिक सेवा प्रवाह, अनुगमन तथा समग्र पालिकाका काम प्रभावित बन्ने गरेका छन् । कर्मचारी लामो समय नटिक्दा जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न समेत कठिनाइ भएको जनाएका छन् । कर्मचारी फेरिरहँदा सेवा प्रवाहको गुणस्तर कम हुने तथा सेवाग्राहीलाई उस्तै सास्ती भइरहेको जनप्रतिनिधिको गुनासो छ । नयाँ कर्मचारी काममा पन्छिने गरेको अनुभव उनीहरूको छ ।
केही स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच बेमेल हुँदा पनि समस्या छ । प्रमुख र उपप्रमुखसँग तालमेल नमिल्दा कर्मचारी फेरबदल भइरहने गरेको पाइएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त मल्लले बताए । उनका अनुसार योसँगै राजनीतिक दबाब र प्रभाव, आफू अनुकूलको कर्मचारी ल्याउन खोज्नु तथा घरपायक जागिर पार्न खोज्दा कर्मचारी एकै ठाउँमा धेरै समय नबस्ने गरेका हुन् । ‘सरुवा भइरहँदा कर्मचारीमा काम गर्ने वातावरण बन्दैन,’ मल्लले भने, ‘कुनै ठाउँमा आधा काम गरिसकेका बेला अन्यत्र सरुवा हुन्छ, त्यहाँ काम अधुरै रहन्छ ।’ योजनाबद्ध रूपमा कार्यसम्पादन गर्न कर्मचारीहरू कम्तीमा एउटा कार्यालयमा दुई वर्षसम्म बस्नुपर्ने उनले बताए ।साझा बिसौनी ।