☰ open Loading... 17 November 2024|  

हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा २१ हजार
  | २५ चैत्र २०७८, शुक्रबार ०५:१८

sharethis sharing button

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या भएको छ । उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन् ।
नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको उनीहरुको दाबी छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लङ्घन गरी उडान ठप्प गरेको बताइएको छ ।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नपाएको  बताइएको छ । हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा तथा कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नौलो होइन । यहाँको बिरामीलाई समेत उपचार गर्न जिल्लाबाहिर जानसमेत समस्या भएको छ । हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन् ।
नेपालगञ्ज–हुम्लाको २१ हजार भाडा
सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएको छ । सहुलियत उडान कम गरिरहेको नेपाल एअरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एकजना यात्रुबाट १६ हजारदेखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुको भनाइ छ । नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो ।
नेपालगञ्जदेखि अन्य निजी एअरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए । तर नेपाल एअरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन् । यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन् । रासस