☰ open Loading... 16 November 2024|  

जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
  | २५ चैत्र २०७८, शुक्रबार ०५:२३

जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । आगामी चैत २५ देखि २०७९ को वैशाख ७ गतेसम्म जुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने छ । जस अन्तरर्गत जुम्लाका झन्डै ४२ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।
जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका १९ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइडविरुद्धको (टीसिभी) खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पुर्ण खोपको सुश्चिता गर्न,खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।
उनले भने,“टाइफाइड दुषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।”
खोपबाट कोहि बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने छ । जसमा चन्दननाथका ८ हजार ५ सय ७५, कनकासुन्दरीका ४ हजार २ सय ६०, गुठीचौैरका २ हजार ७ सय ६,तातोपानीका ५ हजार ३ सय ६८ बालबालिकालाई खोप लगाइने छ ।
त्यस्तै, तिलाका ५ हजार ९ सय ६७, पातारासीका ५ हजार ३ सय ४ सिंजाका ४ हजार ७ सय ७४ र हिमाका ५ हजार ४ सय ६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्षमुनिका ४२ हजार ४ सय २० जना बालिबालाई टाइफाइडविरुद्धको खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।
जुम्ला प्रदेश (ख)मा चैत २५ देखि ३० र प्रदेश (क) मा २०७९ वैशाख २ देखि ७ गतेसम्म दुईचरणमा खोप अभियान सञ्चालन गरिने छ ।
चार वर्षमा ३५ सय टाइफाइडका विरामी
दूषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका बिरामी जुम्लामा बढ्दै गएको तथ्यांकले देखाएको छ । ज्वरो आउने,टाउँको दुख्ने,पेट दुख्ने,आद्रामा समस्या आउने, समयमै उपचार नगरे ज्यान समेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिना माथि र १५ वर्ष मुनीका सबै बालिबालिकाई अनिवार्य खोपको पहुँचका ल्याइने छ ।
सरकारको तथ्यांकअनुसार बितेको पाँच वर्षमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइडका कारण विरामी भएको पाइएको छ । भने, बितेको चार वर्षमा जुम्लाका ३५ सय बढी बालबालिका टाइफाइडका विरामी भेटिएका छन् ।
जसअन्तर्गत जुम्लामा आव २०७५-७६ मा ९ सय ७८ जना, आ.व. २०७६-७७ मा १ हजार १ सय ५८ जना, आ.व.२०७७-७८ मा ८ सय ७९ जना र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जुम्लाका ३ हजार ५ सय ९७ जना नागरिक टाइफाइडका विरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले लक्षित वर्गका ४२ हजारबढी बालबालिका अभियानबाट नछुट्ने गरी खोप अभियान सञ्चालन गर्न समेत निर्देशन दिए । सबै बालबालिका विद्यालयमै नभेटिने भएकोले खोप अभियानलाई घरदैलो केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मंगलबार जुम्लामा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।