☰ open Loading... 16 November 2024|  

स्थानीय तह निर्वाचन आचार संहिता लागू
  | २६ चैत्र २०७८, शनिबार ०५:३४

काठमाडौंः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू गरेको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो ।

 

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सामाजिक सञ्जालमा समेत पोस्ट वा शेयर गर्न पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । आयोगले सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउन्ट सञ्चालन नर्गन भनेको छ ।

 

आचार संहिताले राजनीतिक दल वा उमेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी वा क्याप, गम्छा, माक्स, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, दयाद जस्ता साङ्केतिक सामाग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

 

राजनीतिक दल, उमेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वाक्याप, भेस्ट, टि-सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, माक्स वा लकेट लगाउन वा झोला बोक्न पनि रोक लगाइएको छ ।