☰ open Loading... 17 November 2024|  

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव साख जोगाउने लडाँई
  | १ बैशाख २०७९, बिहीबार ०५:३३

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव मिति नजिकिदै गर्दा काँग्रेसभित्रका दुई धार (समूह) मा रहेका व्यापारीहरु चुनावी प्रतिष्पर्धामा होमिएका छन्। काँग्रेसका दुई समूहका व्यापारीहरु अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन्।

जुनसुकै अस्त्र प्रयोग गरेर भएपनि एकअर्कालाई हराउने गरि उनीहरु मत माग्न व्यापारीहरुको घरघरमा पुगीरहेका छन्। पार्टीको चुनावमा सुर्खेतमा नराम्रो हार ब्यहोरेको काँग्रेसभित्रको (शेखर समुह) उद्योग वाणिज्य संघको चुनावमा जुनसुकै मूल्यमा पनि जित्ने दाउमा छ। लामो समयपछि पार्टी कब्जा गरेको काँग्रेस संस्थापक पक्ष आफ्नो साख जोगाउन चनाखो देखिन्छ। यसरी हेर्दा सुर्खेत उद्योग वाणिज्य संघको चुनाव दुई समुहविच अस्तित्वको लडाई बनेको हो।

वैशाख ४ गते चुनावको मिति तय गरेसंगै मत प्रभावित पार्न उम्मेदवारहरु वीरेन्द्रनगरसहित विभिन्न पालिकाहरुमा पुगेका छन्। सदस्यता विवादले लामो समयदेखि स्थगन भएको चुनाव वैशाख ४ गते तोकिएसंगै वीरेन्द्रनगरमा चुनावी सरगर्मी बढेको हो।

नयाँ नेतृत्वका लागि लक्ष्मण कँडेल र हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी प्रकृयामा होमिएका हुन्। कँडेल काँग्रेस संस्थापक ईतर समुह र खड्का काँग्रेस संस्थापन समुह नजिक रहेका छन्। कँडेलसंग एमाले निकट ब्यापारीहरुले सहयोग गरेका छन् भने, खड्कालाई गठबन्धनमा आवद्ध दल निकट (माओवादी, समाजवादी) व्यापारीहरु आवद्ध छन्। सुर्खेतमा उद्योग वाणिज्य संघमा २ हजार ६० मतदाता संख्या रहेको छ। जसमा १५ बढी मत काग्रेस निकट ब्यापारीहरुको रहेको छ भने, बाँकी मत माओवादी, एमाले, समाजवादी आवद्ध ब्यापारीहरुको रहेको जनाईएको छ।

जिल्लाभरका व्यापारीहरुलाई भेटघाट तथा भोट माग्न उम्मेदवारहरु ब्यस्त छन्। मत आफ्नो पक्षमा पार्न व्यापारीहरु कडा रुपमा कसरत गरेका छन्। काँग्रेसको मत दुवै अध्यक्षहरुमा विभाजन हुने छ। अध्यक्ष उम्मेदवार खड्कालाई गठबन्धन निकट व्यापारीहरुको मत र कँडेललाई एमाले निकट ब्यापारीहरुको आउनेछ। उम्मेदवारको ब्यक्तिगत प्रभावले मत तान्ने हुँदा चुनावलाई कडा प्रतिष्पर्धाको रुपमा लिईएको ब्यापारीहरु नै बताउँछन्।

कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमबहादुर पौडेल लगायत सदस्यहरुमा उम्मेद्धावारी दिएका हुन्।

त्यस्तै खड्का प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत,वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उपमहासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सहकोषाध्यक्षमा सूर्य केसी (बमु) लगायत सदस्यहरुमा पनि उम्मेदवारी दिईएको छ।