रुकुम पश्चिम – नेकपा एमाले रुकुम पश्चिमले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
आज बुधवार जिल्लाको बागबजारमा रहेको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका तीन नगरपालिकाका प्रमुख र उपप्रमुख र तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार टुङ्गो लगाएको हो । टुङ्गो लगाएका उम्मेदवारहरूलाई चुनावको टिकटका लागि प्रदेश कार्यालयमा सिफारिस गरिने बताइएको छ ।
नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतराको नाम सिफारिस गरिएको छ ।
चौरजहारी नगरपालिकाको प्रमुख पदक लागि टंकप्रसाद ओली र उपप्रमुख पदका लागि डण्डी कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यसैगरी आठबीसकोट नगरपालिकामा दिनेश चन्दलाई प्रमुख र कृष्णाकुमारी मल्ललाई उपप्रमुख पदको उम्मेदवार सिफरिस गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाको अध्यक्ष पदका लागि युवा नेता प्रकाश खड्का र उपाध्यक्ष पदमा पवित्रा डाँगीलाई सिफारिस गर्ने निर्णय भएको छ ।
त्रिवेणी गाउँपालिकामा अध्यक्ष पदका लागि डिल्लीबहादुर ओली र उपाध्यक्ष पदका लागि धनकला विष्टलाई उम्मेदवार सिफारिस गरिएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा गणेशबहादुर केसी र उपाध्यक्ष पदमा देउमी पौडेललाई सिफारिस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिए ।