☰ open Loading... 28 November 2024|  

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
  | १२ बैशाख २०७९, सोमबार ०५:२५

काठमाडौंः धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको आयात भएको छ । विभागका अनुसार चालू आवको चैत मसान्तसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड चार लाख बराबरको राजस्व संकलन गरेको छ ।

 

त्यस्तै धानको बीउ मात्रै २४ करोड ८३ लाख ६९ हजार बराबरको कूल १६ लाख ९९ हहजार ७८९ केजी आयात भएको छ । चामलको अवस्था पनि उस्तै छ । नेपालीको स्वभावअनुसार भात नै खानुपर्ने आवश्यकताका कारण चामल आयात उल्लेख्यरुपमा वृद्धि भएको छ । विभागका अनुसार चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार बराबर मूल्यको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पोलिस चामल आयात भएको विवरण छ । यसैगरी पोलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार बराबरका छ करोड तीन लाख ५८ हजार ४५३ केजी चामल आयात भएको तथ्याङ्क छ ।

 

पन्ध्र अर्बको मकै आयात 

विभागको विवरणानुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म रु १५ अर्ब बढीको मकै आयात भएको देखिन्छ । कूल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार बराबर रहेको छ । यसैगरी सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य एक अर्ब पाँच करोड ६६ लाख ६० हजार बराबर छ ।

 

दुई करोडको कोदो 

नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त छ । तर कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले दुई करोड ७१ लाख २० हजार बराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल आठ लाख पाँच हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ ।

 

पाँच अर्बको गहुँ आयात 

नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार बराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै बीउका रुपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य रु २९ लाख ९६ हजार बराबर छ । त्यस्तै नौ महिनाका अवधिमा ६५२ केजी जुनेलो आयात भएको छ । त्यसको लागत मूल्य ३५ हजार बराबर छ । यो विवरणका आधारमा नेपाल क्रमशः परनिर्भर बन्दै गएको देखिन्छ । रासस