कोहलपुर। बाँकेमा तीन जनाको उम्मेद्वारी रद्द भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा एक वडा अध्यक्ष र दुई वडा सदस्यसहित ३ जनाको उम्मेद्वारी रद्द भएको हो ।
नेपालगञ्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेद्वार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं ३ दलित सदस्य पदका उम्मेद्वार निर्मलादेवी बंशाकार र वडानं ७ का सञ्जु बंशाकारको उम्मेद्वारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले मध्यान्हलाई बताए ।
उनका अनुसार पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका थिए । नेकपा एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेद्वारी रद्द भएको सहायक निर्वाचन अधिकृत चौलागार्इंले बताए ।
त्यस्तै उपमहानगरपालिका वडा नं. ३ र ७ का दलित सदस्य पदका उम्मेद्वार निर्मलादेवी र सञ्जुको उम्मेद्वारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको उनले बताए । त्यस्तै कोहलपुर नेपाली कांग्रेसका सक्रिय नेता बलराम शर्माले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएका छन् ।
शर्माले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते हुन गइरहेको केहलपुर नगरपालिका प्रमुख पदमा दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएका हुन् । वैशाख १२ गते कोहलपुर नगरपालिका मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय भएसँगै उक्त निर्णय प्रति असन्तुष्ट जनाउँदै शार्माले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।