वीरेन्द्रनगरको मुख्य चौकहरुमा फोहोर थुप्रो। जताजतै अब्यवस्थित फोहोर। नागरिकहरु नाक थुनेर हिँड्नुपर्ने दैनिकी। सरोकारवालाहरुको ध्यान त्यो फोहोरले तान्न नसकेको अवस्था। वर्षमा एक दुई दिन मनाइने दिवस बाहेक सरसफाई गर्ने संस्कार थिएन कर्णालीको राजधानी वीरेन्द्रनगरमा।
सीमित श्रोत साधनका कारण नगरपालिकाले सरसफाईमा ध्यानै दिएको थिएन तर, अभियान्ताहरु भद्र भण्डारी, प्रेम चन्द, डा.नमराज केसी, यज्ञ खत्री, दिपक गौतमको ध्यान तान्यो। उनीहरु बसेर वीरेन्द्रनगरलाई सफा र हरियाली बनाउनेबारे छलफल गरे। तत्काल अभियान सुरुवात गरे, नगरबासीबाट धन्यवादको पत्र पनि बने। उनीहरुको अभियानलाई बिस्तारै बिस्तारै नगरपालिकादेखि विद्यार्थी, सेना प्रहरी सबैले हातेमालो गरे। अहिले अभियान चलेको ठिक एक सय हप्ता पुग्यो।
सरसफाई सय हप्ता पुग्दा वीरेन्द्रनगरमा धेरै परिवर्तनहरु भए। मुख्य चौकहरु चटक्क सफा छन् भने, फोहोरको डंगुर रहेको डाँडाँ पार्कमा परिणत भए। अहिले ती पार्क टिकटक बनाउने भाईरल डाँडाँको रुपमा प्रख्यात छन्।
मुख्यत वीरेन्द्र चौक, भानु पार्क, बुद्धपथबाट लक्ष्मी हल हुँदै सरसफाई अभियानले तीव्रता लियो। वडा कार्यालयदेखि नगरपालिका, विद्यालयहरु, प्रहरीदेखि सेनाहरु समेत अभियानमा सामेल भए। फोहोरको थुप्रो भएको ठाउँमा फूलहरु राखेर सानो सानो बगैंचा बनाइयो। भानु पार्क लगाएको ठाउँमा फोहोर फालेर फूलहरु रोपियो। पछि वडा कार्यालयले त्यसलाई पार्क बनायो। अभियान्ताहरुले विङ्गस फाउन्डेसन नेपालबाट संस्थागत रुपमा क्लिन एण्ड ग्रिन सुर्खेत अभियान चलाए।
वीरेन्द्रनगरभित्र रहेको ३० वटा विद्यालयमा स्टुडेन्ट अफ क्लिनि क्लव गठन गरेर शनिबार सरसफाई अभियानमा सहयोगी हुने र विद्यालयलाई सफा र हयिाली बनाउन ती क्लवका सदस्यहरु पनि लागे। अहिले वीरेन्द्रनगरका ३० विद्यालयमा अभियान चलिरहेको छ भने, नगर सरसफाईको काम पनि चलिरहेको अभियानका सहसचिव यज्ञ खत्रीले बताए।
‘भानु पार्क पहिले फोहोर फाल्ने ठाउँ र नांगो डाँडाँ थियो,’ अभियानका सहसचिव यज्ञ खत्रीले भने, विश्व वातारण दिवसमा सरसफाईसंगै फूल रोप्यौं। अनि निरन्तर निगरानी गरिराख्यौं। पछि वडाले अपनत्व लिएर सुन्दर पार्क बनेको छ।’
वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहर निर्माणको लागि अभियान सुरु भएको अभियान्ताहरु बताउँछन्। सरसफाई र हरित शहर कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर ४ स्थित भैरव सामुदायिक वनमा १० हजार विरुवा र हजारौं विरुवा काँक्रेविहार जंगलमा रोपेको अभियान्ताहरु बताउँछन्। उनीहरुले फालेको टायललाई फोहोर हटाएर सुन्दर बगौंचा बनाउन प्रयोग गरे। त्यसपछि त्यहाँ फोहोर कसैले पनि फालेन् र बगौंचा बन्यो। वीरेन्द्रनगरमा रहेको ३० वटा सामुदायिक, निजी विद्यालयमा स्टुडेन्ट अफ क्लिनि क्लव गठन गरेर विद्यालयलाई कसरी सफा र हरियाली बनाउने भनेर तालिम समेत बेलोबलामा दिईयो। अनि स्कुल हेल्थ कार्यक्रम समेत हप्तामा एउटा विद्यालयमा गर्ने ब्यवस्था मिलाए।
सुत्राधार डा स्कुल डेल्थ कार्यक्रम, हप्तामा एउटा विद्यालयमा गर्ने, कक्षा, सरसफाई सम्वन्धी कारणबाट हुने असर के गर्छ? लगायतका विषयमा शिक्षक, विद्यार्थी सहभागी गराएर कार्यक्रमहरु गरिएको अभियान्ता डाक्टर नवराज केसीले बताए। ‘वडा वडामा सरसफाई कार्यविधि बनाउन अभियान मार्फत सहयोग भयो,’ अभियान्ता डाक्टर केसीले भने, ‘अव, कार्यविधि कार्यान्वयन कति भएको छ हेर्ने र वडाहरुमा फोहोर कसरी उठाउने त्यसको विर्सजन किन गर्ने, अर्थतन्त्रमा कसरी असर पारिरहेको छ, बिरामी कति हुन्छन् त्यसको बारेमा प्रस्तुतीकरण गर्ने कार्ययोजना रहेको छ।’ त्यस्तै अभियान्ताहरुले चौकचौकमा सरसफाई गार्डेन बनाउने, स्थानीय ब्यवसायीसंग सरसफाईका बारेमा छलफल चलाउने लगायतका अगामी कार्ययोजनाहरु बनाएका छन्।