वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले मतदाता आफूतर्फ आकर्षित गर्नका लागि थरीथरी नारा र वाचा सार्वजनिक गरेका छन्। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयरमा प्रमुख दावेदारहरुले घरघरमै स्वास्थ्य उपचारदेखि सहकारी संस्थाको ब्याज तिरिदिनेसम्मका वाचा र प्रतिवद्धता सार्वजनिक गरेका छन्।
गठबन्धन दलबाट नेपाली कांग्रेसकातर्फबाट वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले सार्वजनिक गरेको वाचापत्रमा हरेक महिना पत्रकार भेटघाटदेखि घरमै पुगेर गर्भवती महिलाहरुको गर्भ जाँच गर्ने उल्लेख छ। ‘अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर–दैलोमा सेवा प्रवाह गरिनेछ,’ खड्काको वाचापत्रमा भनिएको छ, ‘गर्भवती महिलाको घरमै स्वास्थ्य जाँच गरिने छ।’
वाचापत्रमा प्रत्येक विद्यालयमा सिकाई मेलाको आयोजना गर्ने, विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई अतिथि शिक्षकका रुपमा आमन्त्रण गर्ने, जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको विद्यालय सहयोगी समूह गठन गर्ने उल्लेख छ।
यस्तै विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने, सबै नागरिकहरुको वीमा गर्ने, सुत्केरी महिलालाई एक हजार सुत्केरी सहायता भत्ता उपलब्ध गराउने, सवबहानलाई निःशुल्क गर्ने, भैंसी तथा गाईहरु व्याएपछि चारा स्वरुप कृषकलाई एक हजार प्रोत्साहन खर्च उपलब्ध गराउने उल्लेख छ।
वाचापत्रमा रोजगार बैंक स्थापना गरेर संकलन भएका तथ्याङ्कको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने, घरेलु तथा साना उद्योगहरुलाई ठूला खरिदकर्ता र सुपर मार्केटहरुसँग सम्वन्ध स्थापित गराउने उल्लेख छ।
नगर प्रमुखका उम्मेदवार खड्काले आफू निर्वाचित भएपछि वीरेन्द्रनगर–१४ स्थित सोतखोलामा मानव निर्मित ताल बनाउने वाचा पनि गरेका छन्। ‘वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गरिने छ,’ उनको वाचापत्रमा भनिएको छ, ‘यसका साथै बुलबुलेदेखि कांक्रेविहार जोड्ने ‘सर्किट’ निर्माण मेरा प्राथमिकता हुन्।’
गठबन्धनको वाचापत्रमा वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालनमा ल्याइने उल्लेख छ। ‘जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सेवा दिन्छौं,’ वाचापत्रमा लेखिएको छ, ‘विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा छुट दिइने छ।’ वाचापत्रमा यसअघिको सरकारले सुरु गरेको ‘एक घर: दुई विरुवा’ कार्यक्रमलाई निरन्तरता दिँदै ‘मेरो घर, हरित सहर’ अभियान सञ्चालन गर्ने उल्लेख छ।
वाचापत्रमा वादी समुदाय, न्यून आय भएका दलित र विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, ‘समान काम: समान ज्यालालाई कार्यान्वयन गर्ने, अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी र व्यवसायीलाई ‘नगर सम्मान’द्वारा सम्मानित गर्ने, बाल प्रतिभा प्रोत्साहन पुरस्कार स्थापना गर्ने, जेष्ठ नागरिकका लागि ‘जेष्ठ नागरिक मिलन केन्द्र’ सञ्चालनमा ल्याइने उल्लेख छ। वाचापत्रमा हरेक महिनाको १ गते र १५ गते खुल्ला मञ्चमा हुँदै आएको देउडा कार्यक्रमका लागि ‘देउडा डवली’को स्थापना गर्ने उल्लेख छ।
नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार मोहनमाया ढकालले सार्वजनिक गरेको घोषणापत्रमा सहकारीबाट लिएको ऋणको वर्षदिनको ब्याज तिर्नेदेखि कौशी खेती गर्नेलाई प्रोत्साहन गर्नेसम्मका कार्यक्रम छन्।
घोषणापत्रमा नगर क्षेत्रका सडक तथा घरहरुको नम्वरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागूगर्ने, अटो ग्यारेज तथा उद्योगहरु निश्चित ठाउँ तोकी सोही स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाउने, नगर विकास प्राधिकरण गठन गर्ने, स्वास्थ्य स्वयम्सेवीकाको सेवा–सुविधा बढाउने, बालविवाहमुक्त र बालश्रम मुक्त नगर घोषणाका लागि बालबालिकाहरुको उद्दार तथा पुर्नस्थापना गर्ने, छोरी बचत खातालाई निरन्तता र प्रोत्साहन गर्ने, पशु चौपयाका लागि गौशाला व्यवस्थापन नीति र पशु अस्पतालको स्थापना गर्ने, पशुपालक कृषकका लागि आधुनिक गोठ, खोर तथा भकारो र घासमा अनुदान दिने उल्लेख छ।
नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार निर्मला खड्काले आफ्नो घोषणापत्रमा खानेपानीको शुल्क घटाउनेदेखि स्मार्ट सिटी बनाउनेसम्म उल्लेख गरेकी छन्। खड्काले एक वडा, एक उत्कृष्ट विद्यार्थी उच्च शिक्षा कोटा निर्धारण गरि छात्रवृत्ति दिने, लक्षित वर्गभित्रका विरामीलाई निःशुल्क एम्वुलेन्स र औषधि उपचार गर्ने, जिल्ला अस्पताललाई विशषेज्ञ सेवासहित सय शैय्याको बनाउने घोषणापत्रमा उल्लेख छ।
यस्तै किसानहरुले जंगली जनावरबाट पाएको दुःखलाई मध्यनजर गरेर बँदेल र बाँदरबाट किसानको बालीमा हुने नोक्सानी न्यूनीकरणसहित राहत ब्यवस्थापन गर्नेदेखि नगरबासीहरुले चर्को मूल्य तिर्नुपर्ने खानेपानी शुल्क घटाएर एक घर एक घारा बनाउने, बजारक्षेत्रमा अब्यवस्थित तारहरुलाई ब्यवस्थित गर्ने उल्लेख छ।
घोषणापत्रमा नगरका सडक स्तरोन्नति, सडक बत्तीदेखि बजारक्षेत्रमै सार्वजनिक शौचालय र सार्वजनिक धारा बनाउने, ढल तथा फोहर ब्यवस्थापनका लागि फोहोरलाई मोहरमा परिणत गर्ने कार्यक्रमसम्म समावेश छन्।
घोषणापत्रमा महिला तथा विपन्न परिवारलाई केन्द्रित गरेर आर्यआजन गर्न सहज हुने गरि सिपमूलक कार्यक्रम गर्ने, ‘कोखदेखि शोकसम्म’ सेवा सुविधा प्रदान गर्दै मेयर साव होईन, नागरिकको सेवकको रुपमा रहने वाचा पनि घोषणापत्रमा गरिएको छ।
नारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवार लोमन शर्माले आफ्नो घोषणापत्रमा खानेपानीको न्यूनतम शुल्क मिनाहा गर्ने, पर्यटन प्रवर्द्धनका लागि कोटीला ताल निर्माण गर्ने, सदरमुकामको सडकलाई कालोपत्रे गरी व्यवस्थित गर्ने, नगरका विद्युत सुविधा नपुगेका गाउँहरुमा विद्युत सेवा पुर्याउने गरी उज्यालो नगर अभियान सञ्चालन गर्ने, वैकल्पिक उर्जाको प्रयोगसँगै सदरमुकाममा रहेको विद्युतका पोल र तारहरु व्यवस्थित गर्ने योजना शर्माको रहेको छ।
यस्तै शर्माले आफ्नो प्रतिवद्धतामा कृषिमा आधुनिक प्रविधि, एक घर एक रोजगारी सृजना, व्यवसायिक शिक्षामा जोड, पाँच वर्षे कार्यकालमा सबै सामुदायिक विद्यालयका भवनहरु पक्की बनाउने, विद्यालयसम्म सडकको पहुँच अनिवार्य गर्ने, कम्प्युटर शिक्षालाई व्यवस्थित गराउने शिक्षकहरुलाई प्रविधि सम्बन्धी तालिम दिइने उल्लेख गरेका छन्।
शर्माले अस्पताल र स्वास्थ्य चौकीको व्यवस्थापन गर्ने, स्वास्थ्य चौकी भवन नभएका वडामा पक्की भवन निर्माण गर्नेदेखि ६० वर्ष माथिका दलित र अपाङ्गता भएका र अशक्त व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने र स्वास्थ्यकर्मीको सेवा सुविधामा बढोत्तरी गर्नेसम्मका कार्यक्रमहरु राखेका छन्। वैदेशिक रोजगारीमा जाने दर घटाउने, ग्रामीण क्षेत्रको जग्गाकरमा कटौती, हरित सडक निर्माण/मिनी स्टेडियम निर्माण गर्नसम्मका कार्यक्रम नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माको योजना रहेको छ।
महावु गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार लक्ष्मण गुरुङले पालिकाका सवै विद्यालयलाई जस्तापातारहित बनाउने, महावुमा एक सय सैय्याको अस्पतालसहित विशेषज्ञ सेवा दिने, वडामै स्वस्थ्य परीक्षण तथा जाँच प्रयोगशाला बनाउने, ६० वर्षमाथिका नागरिक, दीर्घरोगी, अपाङ्गता भएका ब्यक्ति, स्वास्थ्यमा पहुँच नहुन नसकेकालाई नियमित स्वास्थ्य परीक्षणसहित औषधि उपचारसहित घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने घोषणापत्रमाा उल्लेख छन्।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार जंगबहादुर शाहीले दिगो विकासदेखि सामाजिक सुरक्षा कार्यक्रमहरुका प्रतिबद्धता घोषणापत्रमा लेखेका छन्। गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर फेरि चुनावी मैदानमा उत्रिएका शाहीले आफू अध्यक्ष हुँदा दिगो विकासका लागि थुप्रै कामहरु गरेकाले अधुरा कामहरुलाई निरन्तरता दिने घोषणापत्रमा उल्लेख गरेका छन्।