☰ open Loading... 24 November 2024|  

दैलेखमा आइपुग्यो मतपत्र
  | २० बैशाख २०७९, मंगलवार ०५:५०

दैलेख :  आसन्न स्थानीय तहको निर्वाचनका लागी दैलेखमा मतपत्र आइपुगेको छ । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरी पु¥याएको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत सुनिल कुमार खाणले जिल्लाका लागि एक लाख ७५ हजार थान मतपत्र सँगै आवश्यक सामाग्री रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन,स्यानिटाइजर, कैँची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री आइपुगेको जानकारी दिए ।

उनले मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको र मतदान अधिकृतको नियुक्त गरिसकेपछि आवश्यक तालीम दिएर मतदान स्थलमा पठाउने बताए । उनले जिल्लाभर रहेका २०७ मतदान केन्द्रमा पठाउन आवश्यक पर्ने सम्पूर्ण सामाग्री प्याकिङ गर्न सुरु गरिएको बताए ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख मनमाया काउचाले निर्वाचनका लागि एक हजार ३१ जना जनशक्ति परिचालन गरिने बताइन । उनले एक मतदान केन्द्रमा पाँच जनाका दरले जनशक्ति परिचालन हुने जानकारी दिइन । उनले भन्नि पाँच सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा एक जना मतदान अधिकृत र अन्य सहयोगी कर्मचारी र पाँच सय भन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत पठाइने छ । दैलेखका ११ स्थानीय तहमा स्थानीय तहको निर्वाचनका लागि एक लाख ५८ हजार ७८९ जना मतदाता रहेका छन् ।