आसन्न चुनाव लक्षित गरेर सरकारले भर्ना गरेको म्यादी प्रहरीहरु दैलेखमा मदिरा नियन्त्रण गर्न खटिएका छन्। दुल्लु नगरपालिकामा खटिएका म्यादी प्रहरीहरु अचेल दिनहुँ बजारक्षेत्रमा अवैध रुपमा उत्पादन गरेको मदिरा नियन्त्रणमा खटिने गरेका हुन्।
चुनाव नजिकिँदै गर्दा म्यादी प्रहरीहरु अवैधरुपमा घरेलु मदिरा उत्पादन र विक्री रोक्न खटिएका छन्। जथाभावी मदिरा सेवन गरि झैझगडा तथा अराजक गतिविधि हुनसक्ने भन्दै चुनावमा खटिएका म्यादी प्रहरीहरु दुल्लु क्षेत्रमा मदिरा नियन्त्रण अभियानमा जुटेका हुन्।
म्यादी प्रहरीहरु दुल्लुमा खटिएसंगै अवैध मदिरा विक्रि वितरण समेत रोकिएको छ। ईलाका प्रहरी कार्यालय दुल्लु मातहतबाट उनीहरु खटिएका हुन्। शान्ति सुरक्षामा असर हुन नदिनका लागि प्रहरीले मतदान स्थल आसपास बढी केन्द्रित भएर लागेको हो। मतदान आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रलोभनमध्ये मदिरा सेवन पनि कारकतत्व भएकाले नियन्त्रणका लागि प्रहरी खटेको जनाईएको छ। विगतका चुनावहरुमा विभिन्न समूहहरुले चुनाव केही स्थानहरुमा विथोलिएको थियो।
दैलेख प्रहरीले दुई महिनाअघि मदिरा नियन्त्रण अभियान सुरु गरेको भएपनि चुनाव नजिक भएकाले अहिले तीव्र गतिमा अभियान चलाएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। ‘मुख्यत मदिराबाटै झगडा हुने, विवाद हुने पछि राजनीति रुप लिई अशान्ती हुने भएकाले मदिरा नियन्त्रण गरिएको हो।’ डिएसपी साहले भने, चुनाव हुनु हप्तादिन अघिबाट निर्णय गरेरै मदिरा निषेधित क्षेत्र घोषणा गछौं।’ उनका अनुसार सिलवाला रक्सी समेत अनुमति नदिई विक्री गरेको पाईए त्यो पनि जफत गरिएको छ।
हप्तादिनभित्र मात्रै जिल्लाका रार्कम कर्णाली, जम्धुकाँध र विनायकमा मदिराका कारण चुनावका कुराहरु लिएर झगडा भएको थियो। केही स्थानीय घाईते समेत भएको प्रहरीले जनाएको छ। मदिराकै कारण शान्ति सुरक्षा भंग नहोस् भनेर चुनाव नजिकिँदै गर्दा दैलेख प्रहरीले म्यादीको सहयोग लिएर मुख्यमुख्य बजार र मतदान केन्द्र आसपास कडाई गरेको छ।