दैलेख : जिल्लाका ११ स्थानीय तहमा निर्वाचित हुनुभएका नगर प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दण्डपाणि लामिछानेले शपथ ग्रहण गराएका छन । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे ।
उनले निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए । उनले भने तपाईँले राम्रो काम गर्नुभयो भने जनताले पुन अनुमोदन गर्ने छन् नराम्रो काम गर्नुभयो भने जनताले आफ्नो मत मार्फत बहिस्कार गर्नेछन् राम्रो काम गर्ने प्रयत्न सधैँ गर्नुहोला ।
प्रतिनिधि सभा सदस्य रवीन्द्र शर्माले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिँड्नु पर्ने बताए । उनले आफ्नो पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्ने बताए । उनले भने स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउँपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएको छै आवश्यकताका आधारमा कार्यविधि बनाएर जनता लई विकास र समृद्धिको यात्रालाई अगाडी बढाउनु पर्ने हुन्छ ।
जनताले सहज रूपमा देखिने सरकार भनेको स्थानीय तह हो । आफूले दिएको मत खेर गएन भन्ने आभास मिल्ने गरी जनताको काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु शपथ ग्रहण लिँदा उल्लेख भएको विषयलाई मध्यनजर गर्दै अघि बढ्नु होला । जनताको साझा सेवक बन्नु होला शर्मा भने ।
शपथ लिएका अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने सहायक निर्वाचन अधिकृत सुनिल कुमार खाँणले बताए । उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिहरूले शुक्रवार देखी जिम्मेवारी सम्हाल्नेछन् ।