काठमाडौं : ३० वैशाखमा भएको चुनावको ० प्रतिशत नतिजा आएको छ । ७५३ पालिका मध्ये ९० प्रतिशत पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ ।
०७४ सालको चुनवमा कांग्रेस स्थानीय तहको चुनावमा दोस्रो दलको रुपमा रहेको थियो । ०७४ मा पहिलो दल भएको एमले यसपटक दोस्रो भएको छ । ०७४ मा तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्र यसपटक पनि तेस्रो दलमै कायम रहने देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्र तेस्रो दलका रुपमा रहने देखिएको छ ।
०७४ मा पहिलो दल बनेको नेकपा एमालेले ४०.२४ प्रतिशत सिट जितेको थियो । नेपाली कांग्रेसले ३२.६९ प्रतिशत स्थान जितेको थियो भने तेस्रो बनेको माओवादीले १५.५३ प्रतिशत सिट संख्या जितेको थियो । तत्कालिन संघीय समाजवादीले ४.११ प्रतिशत र राजपाले ३.१७ स्थान जितेका थिए । राप्रपा लगायत अन्य दलहरुले एक प्रतिशत भन्दा कम सिटहरु जितेका थिए ।
संख्याका आधारमा हेर्दा ०७४ मा एमालेले २९४ तहमा प्रमुख जितेको थियो भने उपप्रमुख ३३१ स्थानमा जितेको थियो । २ हजार ५६० वडाध्यक्ष र १० हजार ९१२ जना वडा सदस्य एमालेले जितेको थियो । त्यसबेला कांग्रेसले २६६ स्थानमा प्रमुख र २२३ स्थानमा उपप्रमुख जितेको थियो । २ हजार २८६ वडाध्यक्ष र ८ हजार ६७९ स्थान वडा सदस्य काँग्रेसले जितेको थियो ।
माओवादीले १०६ स्थानमा प्रमुख जितेको थियो भने १११ स्थानमा उपप्रमुख जितेको थियो । १ हजार १०२ जना वडाध्यक्ष र ४ हजार १२३ जना वडा सदस्य माओवादीले जितेको थियो ।
संघीय समाजवादीले ३४ प्रमुख र ३२ उपप्रमुख जितेको थियो भने राजपाले २५ प्रमुख र ३० उपप्रमुख पद जितेका थिए । हाल कांग्रेसमा समाहित भइसकेको लोकतान्त्रिक फोरमले ९ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख जितेको थियो । स्वतन्त्र उम्मेदवारले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख जितेका थिए ।
राप्रपाले ५ र राष्ट्रिय जनमोर्चाले ३ स्थानमा प्रमुख जितेका थिए भने नयाँ शक्ति पार्टी र नेपाली जनता दलले दुई–दुई स्थान जितेका थिए । नेमकिपाले भक्तपुर नगरपालिकामा एक प्रमुख र एक उपप्रमुख जितेको थियो ।
०७४ को चुनावमा ९१ वटा वडाध्यक्ष पद स्वतन्त्र उम्मेदवारको पोल्टामा परेको थियो भने राप्रपाले ५९ र राष्ट्रिय जनमोर्चाले ३३ जना वडाध्यक्ष जितेका थिए । ८८ जना वडाध्यक्ष विजय गच्छदारको पार्टीबाट जितेका थिए, जो नेपाली काँग्रेसमा समाहित भइसकेका छन् । नेमकिपाले २२ वडाध्यक्ष जितेको थियो । यसपटक ठुला दलहरुको समिकरण फेरिएको छ ।
९० प्रतिशत नतिजा आउँदा समेत ठुला सहरको परिणाम भने आउन बाँकी छ । परिणाम घोषणा हुन बाँकी महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वलाई राजनीतिक दलहरुले प्रतिष्ठाका रुपमा लिएका छन् ।