☰ open Loading... 19 November 2024|  

रुकुम पश्चिमको दुई पालिकामा कांग्रेस र चार पालिकामा माओवादी विजयी
  | ८ जेष्ठ २०७९, आईतवार ०५:२७

रुकुम पश्चिमका ६ वटै पालिकाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार दुई पालिकामा नेपाली काग्रेस र चार पालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले जितेको यी दुवै पालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको थियो ।

 

जिल्लाको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन् । केसीले ६ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी माओवादीका बसन्त कुमार शर्माले ६ हजार ९ सय १ मत प्राप्त गरेका थिए । मुसिकोटको उपमेयरमा भने एकीकृत समाजवादीका बिमल कुमार पुन विजयी भएका छन् ।

 

त्यस्तै, बाँफिकोट गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाँठा विजयी भएका छन् । एमालेसँग गठबन्धन गरेका कांग्रेसका उम्मेदवार बाँठा माओवादीका उम्मेदवार चन्द्र बहादुर केसीलाई ३१ मतले पछि पारेर विजयी बनेका हुन् । बाँठाले ४ हजार ४ सय ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी केसीले ४ हजार ४ सय २४ मत ल्याए ।

 

यस्तै, आठबिसकोट नगरपालिकाको मेयरमा माओवादीका रवि केसी विजयी भएका छन् । उनले ७ हजार ३ सय ९९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६ सय १५ मत ल्याएका थिए ।चौरजहारी नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । चौरजहारीमा माओवादीका पुष्प वादी विजयी भएका छन् । वादीले ६ हजार ८ सय ८२ मत ल्याए भने, उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रेम बहादुर ओलिले ६ हजार ३ सय ११ मत प्राप्त गरेका थिए ।

 

सानीभेरी गाउपालिका र त्रीवेणी गाउपालिकामा माओवादी विजयी भएको छ । सानीभेरीमा माओवादीका उम्मेदवार बिर्ख बहादुर बिस्ट ६ हजार १९ मत ल्याएर विजयी बनेका हुन भने, उनका प्रतिद्वन्द्वी कांग्रेसका गोर्ख बहादुर चन्दले ४ हजार ३ सय २० मत प्राप्त गरे । त्रीवेणीमा माओवादीका उम्मेदवार गणेश  कुमार केसी ५ हजार १ सय २९ मत ल्याएर विजयी भएका हुन भने कांग्रेसका उम्मेदवार अमर सिंह खड्काले ४ हजार २ सय ९३ मात्र मत प्राप्त गरेका थिए ।

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ वटै पालिका माओवादीले जितेको थियो  । यसपटक भने दुईपालिकामा कांग्रेसले जितेको छ । जिल्लाका ५ वटा पालिकामा एमाले कांग्रेस र समाजवादीबीच गठबन्धन भएको थियो भने मुसिकोटमा समाजवादी र माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।