☰ open Loading... 26 December 2024|  

दाङका पालिकामा कांग्रेसको वर्चस्व, वडामा एमाले
  | १३ जेष्ठ २०७९, शुक्रबार ०५:११

दाङ । हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ ।

यहाँका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराहीको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डिसी विजयी भएका छन् भने तुलसीपुरको नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् ।

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ । यि पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको हो ।

माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यि तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए ।

वडा तहमा भने एमालेले धेरै सिट जितेको छ । १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ । कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ ।

एकीकृत समाजवादी र जनमोर्चाले एक/एक तथा स्वतन्त्रले दाङमा दुई वटा वडा जितेको छ ।