गलकोट । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षणमा उपसभापति खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै आगामी दिनमा पुनः जनताले जिताउने बताउनुभयो ।
“जनप्रतिनिधि जनताको सेवक हो, भेदभाव नगरी सेवा दिएमा काँग्रेसलाई भोट नदिनेले दिन थाल्छन्”, खड्काले भन्नुभयो, “सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, सेवा दिनुको सट्टा दुःख दिने हो भने काँग्रेसलाई भोट दिएका रिसाउँछन्, त्यसैले जनप्रतिनिधिको काँधमा पार्टी रहेको हुन्छ, जनताको हितमा जनप्रतिनिधिले काम गरौँ ।” उहाँले जनप्रतिनिधि भएपछि राजनीतिक भेदभाव नगरी जनतालाई सेवा दिन सके आगामी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताउनुभयो ।
राजनीतिक सहयोग विना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै खड्काले जनप्रतिनिधिलाई हाम्रो सहयोग हुने र जनताले जस्तो भरोसाका साथ मतदान गरे जनप्रतिनिधिले त्यस्तै सेवा गर्नुपर्ने बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट काँग्रेसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको तर्क गर्नुभयो । रासस