☰ open Loading... 20 November 2024|  

मध्यपहाडी लोकमार्गमा कालोपत्र धमाधम
  | ४ असार २०७९, शनिबार ०६:२७

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डमा अन्तिम खण्डको कालोपत्रको काम धमाधम चलिरहेको छ । रुकुमभित्र पर्ने अरु खण्डमा भने यसअघि नै कालोपत्रको काम सकिएको हो । अहिले मुसीकोट नगरपालिका–५ सेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको सिमानासम्मको खण्ड कालोपत्रको काम भइरहेको हो ।

 

यो खण्ड १२ किलोमिटर लामो छ । सडक चौडा बनाउने र नाली निर्माणलगायतका काम पूरा भएपछि सडक कालोपत्रको काम सुरु भएको हो । यस खण्डमा कालोपत्रका लागि ४४ करोड रुपैयाँ छुट्याइएको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार जसको जिम्मा दिवा/यती विल्डर्स जेभीले पाएको छ । २०७७ असारदेखि सडक स्तरोन्नतिको काम सुरु गरिएको थियो ।

निर्धारित समयअगावै काम सक्ने गरी कामलाई तीव्रता दिइएको निर्माण कम्पनीका प्रतिनिधि भीमराज केसीले बताए । उनका अनुसार सडक स्तरोन्नतिका लागि २०७९ पुस मसान्तसम्मको म्याद दिइएको छ । उनले असार मसान्तसम्म सबै कालोपत्रको काम सकिने दाबी गरे ।

यो खण्डमा कालोपत्र भएसँगै रुकुम पश्चिममा पर्ने मध्यपहाडी लोकमार्गको सबै ठाउँमा कालोपत्र सकिनेछ । यो खण्ड सबैभन्दा बढी असजिलो खण्ड भएकाले अरु खण्ड सकिएपछि मात्र कालोपत्रको काम थालिएको हो ।

अहिले पनि यस खण्डमा पर्ने मुसीकोट–३ को खरेखरेमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । कमजोर भूगोलका कारण बर्खामा पहिरो र हिउँदयाममा पनि सुक्खा पहिरो निरन्तर रुपमा झर्दा यातायातका साधनसहित नागरिकहरूले जोखिम मोलेर आवतजावत गर्नुपरेको स्थानीय गोविन्द केसीले बताए । तर अहिले लोकमार्गको कालोपत्रको काम धमाधम भइरहेपछि खुसी लागेको उनको भनाइ छ ।

ढिलै भए पनि सडक स्तरोन्नति हुनु राम्रो काम भएको मुसीकोट–३ का वडाध्यक्ष दशरथ केसीले बताए । ‘हाम्रो पानीपधेरो गर्ने सडक पनि यो हो, यसैले यो कालोपत्र हुने कुरासँग हामी दैनिकी पनि जोडिएको छ,’ केसीले भने, ढिलै भए पनि घरआँगनको सडक पक्की हुँदैछ खुसी नै छौं ।’

यो सडक मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखले हेर्छ । आयोजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलका अनुसार अहिले अन्तिम खण्डको पनि झण्डै ६० प्रतिशत काम सकिएको छ । ‘यो खण्डको काम सकिएसँगै रुकुम पश्चिमभित्र पर्ने सडक कालोपत्र हुनेछ,’ उनले भने, ‘जिल्लामा एउटा बाहेक सबै पुल निर्माणको काम पनि सकिएको छ ।